Logo

अहिले कागजमा मात्रै एके–४७ टाँसेका छौं, भोलि हामीले शरीरमा टासेर हिँडे तिम्रा हालत के हुन्छ : कार्की



काठमाडौं, १६ बैशाख । बहिर्गमित जनमुक्ति सेना नेपालका उपाध्यक्ष यज्ञ बहादुर कार्कीले आज हामीले कागजमा मात्रै एके–४७ टाँसेर राखेका छौं र भोलि हामीले शरीरमा टासेर हिँडे तिम्रा हालत के हुन्छ भन्दै चेतावनी दिएका छन्।

शनिबार बहिर्गमित जनमुक्ति सेना नेपालले रिपोर्टर्स क्लब नेपाललमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष कार्कीले अयोग्य लडाकुलाई दुई लाख दिने निर्णयको विरोध गर्नेहरुलाई आज हामीले कागजमा मात्रै एके–४७ टाँसेर राखेका छौं र भोलि हामीले शरीरमा टासेर हिँडे तिम्रा हालत के हुन्छ भन्दै चेतावनी दिएका हुन्।

उपाध्यक्ष कार्कीले विगतमा आफूहरुले जुन संघर्ष, त्याग र बलिदानी गरेको भन्दै अहिले ती संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा रहेको बताए। उनले भने,‘जुन ब्यवस्थाको निम्ति हामीले हाम्रो बालापन गुमायौं र त्यो बालापन गुमाएर ल्याएको ब्यवस्थामा सांसद भनाउँदाहरु संसद भवनमा गएर रत्नपार्कमा गीत गाउनेले जस्तै संसद भवनमा गएर माननीय ज्यूहरुले बोलेको सुन्दाखेरि हामीलाई अच्चम लागेको छ, कुनैपनि विषयबस्तु बोल्नुभन्दा अगाडि ज्ञान नलिइकन भेडाबाख्राले कराएजस्तै भ्याभ्याभ्याय जस्तै कराएर समस्याको समाधान हुन्छ? विषयबस्तुको राम्रो जानकारी लिनुपर्छ।’

उनले बहिर्गमित जनमुक्ति सेनाले आजसम्म राज्यबाट केही पनि नलिएको र अहिले दुई÷दुई लाख रुपैयाँ दिने निर्णयले के देश टाँट पल्टेको हो त भन्दै प्रतिप्रश्न गरे। ‘आज हामीले कागजमा मात्रै एके–४७ टाँसेर राखेका छौं। भोलि के हामीले शरीरमा टासेर हिडौं, टाँसे तिम्रा हालत के हुन्छ’–उनको चेतावनी छ।

उनले आफूहरु विगतमा देशका लागि प्राण आहुति दिन हिँडेको भन्दै आफूहरुसँग के भिड्न तयार रहेको हो भन्दै अर्को प्रश्न गरे । हिजोका राजाहरुलाई आज नागरिक बनाउन आफूहरुले त्याग गरेको बताउँदै अहिले आफूहरुको भूमिकाको अवमूल्यन गर्नेहरुले बोल्नुभन्दा अघि दश पटक सोच्नुपर्ने उनको सुझाव छ। उनले आफूहरुले लडेर ल्याएको व्यवस्थाबाट रजाँई गर्नेहरुले अहिले आफूहरुको विरोध गर्दा असह्य हुने चेतावनी दिए।



प्रतिक्रिया दिनुहोस्