Logo

लोकतन्त्रको आवरणमा लुटतन्त्र, प्रदेश संरचना घाँडो भयो, खारेज गर्नुपर्छ : कमल थापा



काठमाडौं,१८ वैशाख । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीयताको नाममा थोपरिएको प्रदेश संरचना नेपाललाई घाँडो भएको बताएका छन् ।

१३४औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा राप्रपा नेपालनिकट श्रमिक संगठन ट्रेड युनियन महासंघ नेपाल (टुकोन) द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले अर्थतन्त्र समाप्त पार्ने किटाणु बनेको प्रदेश संरचना खारेज गरेर केन्द्र र स्थानीय तहमा अधिकारसम्पन्न सरकार बनाउन आग्रह गरे।

थापाले लोकतन्त्रको आबरणमा लुटतन्त्र चलिरहेको भन्दै सिमित दलका सिमित नेताहरु आलोपालो ब्रम्हलुटमा लिप्त भएको आरोप लगाए । भ्रष्टाचारको विरोध गर्ने, सुशासनको नारा दिने नयाँ दलहरुले ब्रम्हलुटको बारेमा बोल्न अल्छी गर्नु बिडम्बना भएको उनको तर्क थियो ।

माओवादी शान्ती प्रक्रियामा आउनु राम्रो भएको तर शान्ति प्रक्रियाको नाममा बारम्बार लुट मच्चाउन खोज्नु स्विकार्य नहुने भन्दै थापाले अयोग्य लडाकुको नाममा करोडौ बाढ्ने विषय आपत्तिजनक भएको स्पष्ट पारे ।

व्यक्ति परिवर्तनले मात्र मुलुकको समस्याको समाधान नहुने भन्दै अहिलेको राजनितीक मार्गचित्र परिबर्तन हुनुपर्नेमा थापाको जोड थियो । थापाले भने, ‘बाटो गलत भए पछि गाडीको ड्राईभर खसासी परिबर्तन गरेर मात्र गन्तव्यमा पुग्न सकिन्नँ, गन्तव्यमा पुग्ने हो भने मार्ग परिबर्तन गर्नुपर्छ ।’

मुलुकको नेपालमा धर्म परिवर्तनको डढेलोले आफूलाई पहिचानवादी भन्नेहरुको नै पहिचान समाप्त हुन लागेको भन्दै थापाले हिन्दु, बौद्ध र किराँत धर्म मान्नेहरुको संख्या अघिल्लो जनगणनामा भन्दा ज्यादै न्यून भएकै कारण सरकारले धर्मको आधारमा जनगणनाको रिपोर्ट सार्वजनिक नगरी लुकाएको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्