Logo

प्रदेश प्रमुखले नियुक्त गरेको जानकारीनै नगराई मुख्यमन्त्रीले विश्वासको मत मागेको भन्दै एमालेको आपत्ति



काठमाडौं, १९ वैशाख । नेकपा (एमाले) का लुम्बिनी प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरीले प्रदेश प्रमुखले नियुक्त गरेको पत्र सभा समक्ष प्रस्तुत नगरी मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले विश्वासको मत मागेको भन्दै आपत्ति जनाएका छन् ।

आज (मंगलबार) को प्रदेश सभा बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत मागेसँगै छलफलमा सहभागी भएका एमाले सांसद चौधरीले प्रदेश प्रमुखले नियुक्त गरेको सूचना प्रदेश सभामा जानकारी नै नगराई विश्वाको मत मागेको भन्दै आपत्ति जनाएका हुन् । साथै, उनले प्रदेश प्रमुखको पत्र नआउँदासम्म बैठक स्थगन गर्नसमेत सुझाव दिएका छन् ।

‘मुख्यमन्त्रीज्यूको सन्दर्भमा प्रदेश प्रमुखले नियुक्त गरेको हो कि होइन ? यहि हो भने आज यो सदन समक्ष प्रदेश प्रमुखको पत्र पढेर सुनाउन पर्छ । जब प्रदेश प्रमुखले नियुक्त नै गर्नु भएको छैन भने कस्तो विश्वासको मत ? के को विश्वासको मत ? के को छलफल ? प्रदेश सभा र अहिलेको सरकारले यो कुरा मिलाउन पर्ने थियो । जुन मिलेको छैन । हाम्रो प्रदेश सभाको बैठक प्रदेश प्रमुखको पत्र नआउँदासम्म स्थागन गर्न उपयुक्त हुन्छ भन्ने मेरो सुझाव छ,’– उनले भने ।

साथै, मुख्यमन्त्रीलाई प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) बमोजिम नियुक्त गरेको भन्ने आफूले मिडियामार्फत जानकारी पाएको उनले बताए । यदि संविधानको उक्त धारा बामोजिम मुख्यमन्त्री नियुक्त भएको भए त्यो संविधानको भावना र मर्म विपरीत हुन जाने उनको भनाई छ । यो सरकारले राम्रो काम गर्न नसक्ने उनको आरोप छ । यो सरकार कुनै नीति र विचारको आधारमा नबनेको उनले बताए ।

 

 



प्रतिक्रिया दिनुहोस्