Logo

मोबाइल छाड्दै, फुटबल सिक्दै बालबालिका



घोराही, २३ बैशाख । विगतमा घरमै मोबाइल चलाएर बस्ने बालबालिकाको दैनिकी अचेल फेरीएको छ। उनीहरु दाङको घोराही उपमहानगरपालिका–१८ स्थित नवलपुर फुटबल मैदानमा फुटबल सिक्न थालेका छन्। दिनहुँ बालबालिका फुटबल अभ्यासका लागि पुग्ने गरेका छन्।

स्थानीय धरम केसी हरेक दिन बिहान फुटबल अभ्यासका लागि नवलपुर पुग्छन्। फुटबलका बारेमा सैद्धान्तिक ज्ञानसँगै अनुशासनबारे पनि थाहा पाएको उनको भनाइ छ। केसीले भने, “खेल खेल्न र यस सम्बन्धी विभिन्न खालका ज्ञान लिन पाउँदा धेरै हर्षित छु, खेल क्षेत्रमा अगाडि बढ्न सघाउ पुर्याएको छ।” नवलपुर फुटबल एकेडेमीले फुटबल सिकाउन थालेपछि अभिभावक पनि खुसी भएका छन्।

खुट्टामा जुत्ता, फुटबलकै पोशाक लगाएका आठ वर्षदेखि १४ वर्षसम्मका बालबालिका हरेक दिन चौरमा फुटबल सिक्न व्यस्त रहन्छन्। उनीहरु निकै मेहनत गर्छन्। रामेछाप स्थायी घर भई हाल घोराही–१५ बस्दै आएका १४ वर्षीय सुजन तामाङलाई एकेडेमी आएर सिक्न थालेको दुई वर्षभन्दा बढी भइसकेको छ। बालबालिका तथा किशोरकिशोरी गलत सङ्गतमा फस्ने, कुलतमा लाग्ने, अनावश्यक गतिविधि गरेर भविष्य बिगार्ने खतरा रहेका बेला यहाँ आएर फुटबल सिक्ने र भविष्यका बारेमा सोच्नुक्ने भएका छन्।

बालबालिकामा विभिन्न खालका मानसिक तथा शारीरिक समस्या देखापरिरहेका बेला फुटलब प्रशिक्षणका माध्यमबाट खेलमा व्यस्त हुन थालेपछि बालबालिकाका अभिभावक पनि उत्साहित भएका प्रशिक्षक दीपक पुन बताउँछन्। एकेडेमीमा आबद्ध थुप्रै बालबालिकालाई हरेक दिन उनीहरूका अभिभावकले खेलमैदानसम्म पुर्याउने गरेका छन्। खेलमा सानै उमेरदेखि लाग्न प्रेरित गर्न, मानसिक, शारीरिकरूपमा स्वस्थ राख्न फुटबल प्रशिक्षणमा लैजाने गरेको नवलपुरका भीमबहादुर छन्तेल बताउँछन्।

विसं २०७६ देखि विभिन्न उमेर समूहका बालबालिकालाई नवलपुर फुटबल एकेडेमीले प्रशिक्षण दिँदै आएको छ। ‘ग्रासरुट’मा नै प्रशिक्षण दिनसके राम्रा खेलाडी उत्पादन हुनेमात्रै नभई मानसिक तथा शारीरिक विकाससँगै खेलमा सुधार ल्याउन मद्दत पुग्ने प्रशिक्षक पुनको भनाइ छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले हरेक जिल्लामा यस्तो कार्यक्रम सञ्चालन गर्न आवश्यक भएको उनले बताए। तर दाङमा नलवपुर फुटबल एकेडेमीले लामो समयदेखि बालबालिकालाई निःशुल्क फुटबल प्रशिक्षण गराउँदै आएको छ।

“फुटबलको समग्र विकासका लागि उमेर समूहबाटै खेलाडी उत्पादन आवश्यक छ । यसका लागि खेलकुदका क्षेत्रमा काम गर्दै आएका निकाय र राज्यको नजर अझै पुग्न सकेको छैन”, प्रशिक्षक पुनले भने। दक्ष खेलाडी उत्पादनमा ध्यान नदिने तर नतिजा भने राम्रो खोज्ने परिपाटीले नेपालमा फुटबलको विकास सोचेअनुरुप हुननसकेको उनको भनाइ छ। कमजोर खेल संरचनालाई बलियो बनाउन र खेलकुदको समग्र विकासका लागि स्थानीयस्तरमा पालिकाले पनि प्रयास गर्न जरुरी छ। एकेडेमीको सहयोगले बालबालिकाको शारीरिक र मानसिक विकासमा त सहयोग पुगेको छ नै, साथै खेलाडी उत्पादन गर्न पनि मद्दत पुगेको छ। रासस



प्रतिक्रिया दिनुहोस्