Logo

नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनलाई कहिँकतैबाट प्रभावित बनाउने प्रयास नहोस् : कांग्रेस नेता सिंह



काठमाडौं,२९ वैशाख । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन निष्पक्ष रूपमा अघि बढाउन प्रहरीलाई सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।

यसमा संलग्न व्यक्ति जोसुकै र जुनसुकै दलको भए पनि छानविनको दायरामा ल्याउन प्रहरीलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

आज बिहान सामाजिक सन्जालमा उनले लेखेका छन्, ‘नेपालीलाई भुटानी शरणार्थी बनाउने काममा संलग्नहरूमाथि भइरहेको छानविनलाई कहिँकतैबाट प्रभावित बनाउने प्रयास नहोस् । कानुनको सर्वमान्य सिद्धान्त हो– दोषीहरू नछुटुन्, निर्दोषहरु नपरून् । कानुनको नजरमा सबै समान छन् र दोषीले उन्मुक्ति पाउँदैनन्, निर्दोष फस्दैनन् भन्ने नजिर बन्ने गरी नक्कली भुटानी शरणार्थी प्रकरणको निरक्योल हुन सकोस् ।’

‘प्रहरीले स्वतन्त्र ढंगले अनुसन्धान गर्न पाओस् । यसलाई कुनै पनि बहानामा राजनीतिकरण नगरियोस्,’ उनले भनेका छन्, ‘यसमा संलग्न व्यक्ति जोसुकै र जुनसुकै दलको भए पनि छानविनको दायरामा ल्याउन प्रहरीलाई सहयोग गरौं ।’



प्रतिक्रिया दिनुहोस्