Logo

कांग्रेसले पूर्वसांसद बस्नेतको निधनमा तीन दिन पार्टीको झन्डा आधा झुकाउने



काठमाडौं,२९ वैशाख । नेपाली कांग्रेसले पूर्वसांसद पुरूषोत्तम बस्नेतको निधनमा केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा पार्टीको झन्डा आधा झुकाउने भएको छ।

वैशाख २९, ३० र ३१ गते पार्टी कार्यालयमा झन्डा आधा झुकाइने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

वैशाख ३१ गते आइतबार केन्द्र तथा जिल्लाका सबै कार्यालयहरू बन्द हुने पनि उनले बताए । १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने कार्यक्रम पनि तय भएको उनको भनाइ छ।

बस्नेतको निधनप्रति सभापति शेरबहादुर देउवाले दुस्ख व्यक्त गरेका छन्।

‘नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, लेखक, साहित्यकार पुरुषोत्तम बस्नेतको निधनको खबरले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ। कांग्रेस र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँले पुर्‍याउनु भएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहनेछ। उहाँको निधनबाट कांग्रेसले बहुआयमिक व्यक्तित्वलाई गुमाएको छ। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु,’ देउवाले भनेका छन्।

बस्नेत कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्वआमन्त्रित सदस्य र संविधानसभा सदस्यसमेत थिए।

७८ वर्षीय बस्नेतको आज बिहान ४ बजे सिफल हाइट काठमाडौंमा निधन भएको थियो। आजै अपरान्ह २ बजे पशुपति आर्यघाटमा उनले अन्त्येष्टि गरिने छ।

बस्नेतले लामो समयसम्म कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ प्रकाशन गरेका थिए भने ‘नेपाली कांग्रेसको इतिहासको प्रारुप’ भाग एक र दुई जस्ता कृतिसमेत लेखेका थिए।
उनी गोरखापत्र संस्थानको पूर्वकार्यकारी अध्यक्षसमेत रहेका थिए।



प्रतिक्रिया दिनुहोस्