काठमाडौं, १ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार अनियमितता र भ्रष्टाचार नियन्त्रणमा गम्भीर भएर लागि रहेको बताएका छन् ।
आज (सोमबार) नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौंथो केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारीलाई कारबाही गर्ने सन्दर्भमा सरकारले चालेको कदममा खुट्टा नकमाउने बताएका हुन् ।
‘भ्रष्टाचारीहरुलाई कारबाही गर्ने दिशामा सरकारले चालेको कदमप्रति आम जनताले बिभिन्न माध्यमबाट समर्थन र ऐक्यवद्धता जनाउनुभएकोमा म सरकारको तर्फबाट सबैमा हार्दिक आभार प्रकट गर्न चाहन्छु। त्यसका साथै भ्रष्टाचारीहरुलाई कुनै पनि बहानामा बचाउने काम नगरियोस्, सरकारले खुट्टा नकमाओस् भनेर जुन खबरदारी गर्नुभएको छ, त्यसप्रति पनि हामी पूर्ण सजग रहेका छौं,’– उनले भने ।