काठमाडौं, २ जेठ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले शान्ति प्रक्रियालाई छिटो निष्कर्षमा पुर्याउन आवश्यक रहेको बताएका छन् । सिंहदरबारस्थित समितिको कार्यकक्षमा समितिका ज्येष्ठ सदस्य एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षमा बसेको पहिलो बैठकमा मन्त्री गुरुङले शान्ति प्रक्रियाको काम ‘हात्ति छिर्यो, पुच्छर अड्कियो’ बनेको बताएका हुन् । अहिले नेपालको शान्ति प्रक्रियाको कामलाई सारा विश्वले हेरिराखेको उनको भनाई छ । यस विषयलाई छिटो टुंग्याउन आवश्यक रहेको उनले बताए ।
‘वास्तवमा हामीले धेरै लामो यात्रा गरिसकेका छौं । एउटा व्यवस्थाबाट अर्को व्यवस्थामा आएर हामीले सेना समायोजन र संविधानसमेत लेखिसकेका छौं । अब रह्यो हात्ति छिर्यो, पुच्छर अड्कियो भन्ने मैले सुन्ने गरेको थिएँ । त्यस्तै भएको छ, यत्रो काम हामीले गर्यो तर यो शान्ति प्रक्रियाको काम हामीले टुंगोमा पुर्याउन सकेका छैनौं,’– उनले भने ।