Logo

नेकपा एसले गृहमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा के छ ?



काठमाडौं,३ जेठ । नेकपा (एकीकृत समाजवादी)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले खुट्टा नकमाउन आग्रह गरेको छ ।
आज उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष ज्ञापनपत्र बुझाउँदै एसले दोषि देखिएका सबैलाई कानूनको घेराभित्र ल्याई कडा भन्दा कडा सजाय गर्न माग गरेको छ ।

यस्तो छ नेकपा एसको ज्ञापनपत्र

मिति २०८०\२\ ३
सम्माननीय उपप्रधान तथा गृहमन्त्रीज्यू,
नेपाल सरकार, सिहदरवार काठमाण्डौ ।
विषय– ज्ञापन पत्र प्रस्तुत गरिएको ।

नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन गरिएको मानव बेच बिखन र भ्रष्टाचारको ग्राण्ड डिजाईनको विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट मोर्चा संगठन खुला रुपमा सडकमा उत्रेको कुरा यहाँलाई जानकारी नै छ । यो कुकृत्यमा संलग्न सबै अपराधीहरुलाई गिरप्तार गरी हदैसम्मको कानूनी कार्बाही गर्न हाम्रो पार्टीले विगतदेखि नै सार्वजनिक रुपमा माग तथा आह्वान गर्दै आएको हो । त्यसयताका दिनहरुमा यो जघन्य अपराधमा संलग्न भएका सबैलाई कार्वाही गर्न र तिनीहरुलाई कुनै पनि बहानामा दोषमुक्त नबनाउन वा मुद्दालाई कमजोर तथा निश्प्रभावी नपार्न राजनीतिक दलहरु र आधिकारकर्मी तथा नेपाली नागरिकहरु सडकमा धर्ना र प्रदर्शन गरिरहेका छन् । नक्कली भुटानी शरणार्थी काण्डका भ्रष्टाचारीहरुलाई कानुनी कार्वाहीको दायरामा ल्याउन आजसम्म सरकारले राखेको अडान, कार्य र सकृयताले आमनागरिकको वीचमा सकारात्मक सन्देश प्रवाह गरेको छ । निराश जनता केही मात्रामा आशावादी बनेका छन् । यसका लागि हामी नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छोैं । साथै, हामी यस सन्दर्भमा थप ध्यानाकर्षण गराउन चाहन्छौ–

– देशका कतिपय उच्च पदस्थ नेता, उपप्रधानमन्त्री, मन्त्री, सांसद तथा मन्त्रालयका सचिवहरुले नै देशका नागरिकहरुलाई अर्को देशको नक्कली नागरिक बनाई विक्री गर्नु मानव बेचविखनको कार्यमात्र होईन राष्ट्रप्रतिको धोखा र राष्ट्रद्रोही कार्य भएको छ । यस कुकर्मबाट राष्ट्रको प्रतिष्ठामा गंभीर क्षति भएको छ अन्तराष्ट्रिय बेइज्जती भएकोछ ।

– यस काण्डमा संलग्न पूर्व उपप्रधानमन्त्री, मन्त्री, कतिपय दलका उच्चपदस्थ नेता, बहालवाला सांसद, उच्चपदस्थ कर्मचारी लगायतका मानिसहरूको भ्रष्ट कृयाललापलाई आधार बनाएर विभिन्न आवरणका शक्तिहरुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गर्ने र विविध षडयन्त्र गर्ने काम गरिरहेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध कुप्रचार गरी देशलाई अराजक परिस्थतितिर लैजान खोजिएको देखिन्छ । नक्कली भुटानी शरणार्थी काण्डलाई आधार बनाएर संसद भित्रैबाट संविधानका विरुद्धसमेत बोल्ने काम गरिएको छ । यसबाट परिवर्तनकामी राजनीतिक शक्तिको मनोवल खसाल्ने प्रयास गरिएको छ ।

– विगतका धेरै भ्रष्टाचार काण्डहरू यत्तिकै बीचैमा सामसुम पारिएका हुँदा आम जनताका मनमनमा कतै यो संगीन मुद्दालाई पनि कमजोर पार्ने काम त भैरहेको छैन भन्ने गंभीर आशंका जन्मिएको छ । हाम्रो पार्टी यो विषयप्रति धेरै नै संवेदशील छ र गंभीतापूर्वक अध्ययन गरिरहेको छ । कुनै पनि प्रकारको मिलोमतोमा अपराधीलाई उन्मुक्ति दिई जनताको भावनामाथि खेलवाड गर्न थालियो भने त्यो देश र जनतामाथि थप कुठाराघात मात्र हुनेछ भनी हामी सरकारलाई सचेत गराउन चाहन्छौं । नेपाल सरकारका अपराध अनुसन्धानमा खटिएका सबै निकायले दृढताापूर्वक अनुन्धानलाई अगाडि बढाउन् तथा अपराधीमाथि मुद्दा दायर गर्ने निकायले मुद्दालाई कमजोर बनाउने काम नगरुन् भन्ने हाम्रो गंभीर आग्रह छ । मुद्दालाई कमजोर बनाई सामान्य कसुरको रुपमा परिणत गरी घटनालाई ढाकछोप गर्ने षडयन्त्र नगरियोस् भनी यो ज्ञापन पत्र प्रस्तुत गरेका छौ । नक्कली भुटानी शरणार्थी काण्ड सम्बन्धी अपराधको सम्पूर्ण संजाललाई कानूनको घेराभित्र ल्याई कडाभन्दा कडा कानुनी सजाय दिन हामी सरकारसमक्ष जोडदार माग गर्दछौं । भ्रष्टाचारमा संलग्नहरु जतिसुकै शक्तिशाली भए पनि कार्वाहीमा पर्छन् भन्ने देखिएमा मात्रै निराश जनतामा नयाँ आशा र विश्वास पलाउने छ ।
धन्यवाद !

(विजय पौडेल )
प्रमुख, मोर्चा संगठन, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)



प्रतिक्रिया दिनुहोस्