Logo

ओलीको नजरमा सरकारको नीति तथा कार्यक्रम ‘नजान्ने विद्यार्थीले चिट चोरेजस्तो’



काठमाडौं, ६ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमले पञ्च वर्षीय योजनालाई सम्बोधन गर्न नसकेको बताएका छन् ।
आज (शनिबार) संसद् भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सरकारको नीति तथा कार्यक्रम केवल नजान्ने विद्यार्थीले चिट चोरेजस्तो भएको टिप्पणी गरे ।

‘दीगो विकासका लक्ष्य भन्छौं हामी, त्यो गन्तव्य हो । गन्तव्यहरुमध्ये कुन–कुन गन्तव्य पूरा गर्ने सन्दर्भमा यस वर्षमा के–के काम गर्ने ? यस नीति कार्यक्रममा आउनुपर्छ । संविधान कार्यान्वयनको सन्दर्भमा के गर्ने ? अर्को पञ्च वर्षीय योजनाको अन्तिम वर्ष छ, यस वर्ष कहाँ हामीले तार्गेट मिट गर्नेवाला छौं ? पञ्च वर्षीय योजनाको कि कुनै पनि मिट हुँदैन ?’ प्रश्न गर्दै उनले भने ‘त्यतातिर ध्यानै गएको छैन । हामी अर्को पञ्च वर्षीय योजनामा कसरी प्रवेश गर्छौं ? त्यसका निम्ति हाम्रो तयारी के हो ? ती कुराहरु आउनुपर्ने हो । यस कोणबाट हेर्दाखेरि यो नजान्ने विद्यार्थीले चिट चोरेजस्तो छ ।’

साथै, सरकारले एमाले नेतृत्वको सरकार हुँदाका नीति तथा कार्यक्रम अहिलेको नीति तथा कार्यक्रममा समावेश गर्ने आँट नगरेको उनको भनाई छ । ओलीले पार्टीका नेता एवं पूर्व गभर्नर युवराज खतिवडातर्फ फर्किएर भने, ‘अघि डा. साबले भन्नुभयो नि ‘हामीले राखेको कार्यक्रम पनि राख्नु भएको रहेछ, त्यसका लागि तपाईलाई धन्यवाद ।’ त्यो राखेको होइन, परेको । चिट चोर्ने क्रममा परेको हो । राख्ने उहाँहरुको आँट छैन ।’



प्रतिक्रिया दिनुहोस्