Logo

शहरी विकासमन्त्री गुरूङद्वारा निर्माणाधीन मन्त्री निवासको निरीक्षणः काम चाँडो सक्न निर्देशन



काठमाडौं, ६ जेठ । शहरी विकासमन्त्री सीता गुरूङले ललितपुरको भैंसेपाटीमा निर्माणाधीन मन्त्री निवास भवनको काम यथासक्य पूरा गर्न निर्देशन दिएकी छन् । आज (शनिबार) आयोजनास्थलमा पुगेर निरीक्षण र भवन निर्माणको प्रगतिबारे जानकारी लिएपछि मन्त्री गुरूङले निर्माण व्यवसायीलाई सम्झौताबमोजिम बाँकी काम यथासक्य पूरा गर्न निर्देशन दिएकी हुन् ।

शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले निर्माण गरिरहेको सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संघीय सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरूको निवास निर्माण गर्न सरकारले ०७६ कात्तिकमा ठेक्का लगाएको थियो । तर कोभिड–१९ र अन्य कारणले समयमा काम हुन सकेन । त्यसयता भवन निर्माणकालागि तेस्रो पटक थपिएको म्याद पनि सकिँदैछ ।

मन्त्री गुरूङले समयमा काम नसकिए सरकारले म्याद थपिहाल्छ भन्ने मान्यताबाट काममा ढिलासुस्ती नगर्न निर्माण व्यवसायीहरूलाई निर्देशन दिईन् । ‘बेलामा काम सक्यो भने तपाईहरूलाई पनि ढुक्क हुन्छ । सरकारको पनि एउटा योजना पूरा हुन्छ । बरू कामदारको संख्या बढाउनुस्, दिनरात गरेर भएपनि काम गर्नुस्, तर सम्झौताबमोजिम यथासक्य काम सम्पन्न गर्नुहोस्,’मन्त्री गुरूङले भनिन् ।

विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका अनुसार भवन निर्माणमा हालसम्म ९० प्रतिशत काम पूरा भएको छ । कार्यालयका उपनिर्देशक दिपक श्रेष्ठले आगामी असार मसान्तभित्र निर्माणका काम पूरा भइसक्ने जानकारी दिए । मन्त्री गुरूङसहित शहरी विकास मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, शहरी विकास तथा भवन निर्माण डिभिजनका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठ लगायतको टोलीले आयोजनाको स्थलगत अनुगमन गरेका थिए ।

त्यसक्रममा मन्त्री गुरूङले भवन निर्माण क्षेत्र वरपरका स्थानीयबासीहरूसँग समेत छलफल गरिन् । स्थानीयबासीहरूले भवन निर्माणसँगै आसपासको सडक निर्माण, ढल निर्माण लगायतका योजनामा समेत सरकारले लगानी गरिदिनुपर्ने माग गरेका छन् । मन्त्री गुरूङले स्थानीयबासीका माग सुनेपछि ती मागहरूका बारेमा आवश्यक समन्वय गरेर काम अघि बढाउने विश्वास दिलाईन् ।

 



प्रतिक्रिया दिनुहोस्