- डाक्टर लक्ष्मी पौड्याल
बागमती सफाई अभियन्ता
१. तिमी सम्पदा र पहिचानको खानी थियौ,
तर, के गर्नु तिमी चलमलाउन नसक्नेगरि लडिरहेकी थियौ,
बोल्न नसक्नेगरि छट्पटाईरहेकी थियौ।
२. साँच्चै तिम्रो शरिर लडिरहेको थियो,
आँखा, मुख चल्न छोडिसकेका थिए,
तिम्रा अङ्ग-प्रत्याङग मृत्युजस्तै ढलिरहेका थिए।
३. तिम्रा घरका मान्छे र आफन्त नजिक पर्न छोडिसकेका थिए,
तिम्रो उपचार गर्नुपर्ने कर्तव्य तोडिसकेका थिए,
तिमी बाँच्छौ भन्ने आशाबाट मोडिसकेका थिए।
४. साँच्चै तिम्रो शरीर गन्हाएर डुङ्गडुङग थियो,
सबै जना नाक मुख थुनेर फर्किन्थे,
तिमी भएको बाटो हिँड्न नपरोस् भनि तर्किन्थे।
५. तिमी कतै ब्युँझिन्छौं कि भन्ने म र हामीलाई अनायासै कता-कता आशा पलाएकै हो,
त्यसैले म र हामीले तिमीलाई आइसियूमा भर्ना गरेकै हो,
चाहिएको औषधी भरेकै हो।
६. तिम्रो उपचारमा खटिँदा कतिले खिल्ली उडाए, तिम्रो सम्पति पाउने आशामा दौडेको भनि भ्रम फैलाए,
तिम्रो स्याहारमा खटिएबापत महिनावारी तलब खाने ट्याग पनि भिराए।
७. खैर, केही छैन ! न तिमीले चिन्छौ मलाई,
न त तिमी मेरै नाता पर्ने रहेछ,
नि:स्वार्थ तिम्रो उपचारमा खटिएको आज ठ्याक्कै १० वर्ष १२ महिना भएछ,
८. आइसियूबाट जेनरल वार्डमा सारेको पनि धेरै वर्ष भो,
खै तिमी पूर्ण निको भयौ भन्न पाइने कहिले हो ? सन्तोषको स्वास फेर्न पाइने कहिले हो?
९. यस अर्थमा खुशी छौं,
तिम्रो मृत शरीर ब्युँतिएको छ,
आफैं खान र हिँड्नसक्ने भइसकेकी छौ,
निको गराउन सक्ने आशाको किरण छाइसकेकी छौ
१०. कसम, तिमीलाई पूर्ण निको नहुञ्जेल छोड्ने छैनौं,
विश्वास र ईमान्दारिता तोड्ने छैनौं,
तिम्रा घर-परिवारलाई जवाफदेही नबनाई छोड्ने छैनौं।
११.नि:स्वार्थ हिसाबले तिम्रो उपचारमा खटिएका सबैलाइ कोटी-कोटी नमन छ,
यो राष्ट्रभक्तको बाटोमा आत्मसम्मान, खुसी र सन्तुष्टि छ,
यही जीवनमा स्वर्गीय आनन्दको अनुभूति छ, यही जीवनमा स्वर्गीय आनन्दको अनुभूती छ।
जय बाग्मती !