Logo

बाँझो जमिनमा सामूहिक खेती र सहकारी खेती गर्ने सरकारको योजना



काठमाडौं, ७ जेठ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा.बेदुराम भुसालले बाँझो जमिनमा सामूहिक खेती र सहकारी खेती गरेर उत्पादन वृद्धि गर्ने सरकारको योजना रहेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीले गरेको पत्रकार सम्मेलनमा उनले नेपालमा १० लाख ३० हजार हेक्टर जमिन बाँझो रहेको उल्लेख गर्दै बाँझो जमिनमा एकल खेती नभई सामूहिक तवरको खेती गरिने बताएका हुन् ।

पहिले जस्तो गोरुले जोतेर कोदाली खनेर गरिने खेतीको लागत मूल्य बढ्ने भएकाले व्यावसायिकीकरण र यान्त्रिकीकरणबाट उत्पादन बढाउनु अहिलेको आवश्यकता रहेको उनले बताए ।

“पहिले खाद्यान्न निर्यात गथ्र्यौ । अहिले खाद्यान्न आयात गर्छौं । त्यसलाई प्रतिस्थापन गर्ने हाम्रो पहिलो लक्ष्य हो । सबैभन्दा बढी उब्जाउ क्षेत्र तराई हो । तराईमा सिँचाइको व्यवस्थापन गरेर कृषिमा व्यावसायिकीकरण गरेर खाद्यान्न निर्यात गर्ने लक्ष्य सरकारको रहेको छ,”– मन्त्री भुसालले भने ।

कृषिबाट उत्पादन भएको धान, मकै, गहुँलगायतका खाद्य सामग्रीको मूल्य उत्पादन हुनुभन्दा पहिले नै तोकिने उनको भनाइ छ । उनले यसभन्दा पहिला उत्पादन भएपछि धानको तथा उखुको मूल्य निर्धारण हुँदै आएकामा अब बाली लगाउनुभन्दा पहिले नै मूल्य निर्धारण हुने बताए ।



प्रतिक्रिया दिनुहोस्