Logo

कांग्रेसको प्रधानमन्त्री र माओवादीको अर्थमन्त्री भएको बेलामा मुलुकको अर्थतन्त्र रसातलमा गयोः रघुजी पन्त



काठमाडौं, ८ जेठ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माको पालामा मुलुकको अर्थतन्त्र रसातलमा पुगेको टिप्पणी गरेका छन् ।

आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद पन्तले कमिशन एजेण्टहरुले बन्द कोठामा बसेर बजेटमा करको दर हेरफेर गर्दा मुलुकको अर्थतन्त्रमा धक्का लागेको बताएका हुन् ।

‘यो भन्दा अगाडिको सरकार नेपाली कांग्रेसको प्रधानमन्त्री र नेकपा (माओवादी केन्द्र) को अर्थमन्त्री भएको बेलामा मुलुकको अर्थतन्त्र रसातलमा गयो । कमिशन एजेण्टहरुले बन्दकोठामा निर्णय गर्ने होइन । बजेट बनाउँदा प्रमाण जुटाउन सकिएन, मुसाले काट्यो रे !’– उनले भने ।

सरकारका नीति तथा कार्यक्रममा कुनै वैचारिक जग नभएको उनको टिप्पणी छ । यो नीति तथा कार्यक्रमले दिशा निर्देश गर्न नसक्ने उनको दाबी छ । अहिलेको सबैभन्दा ठूलो आवश्यकता नेपालको अर्थतन्त्रलाई विचौलियाहरुको हातबाट मुक्त गराउनु रहेको उनले बताए । सरकारका हरेक गतिविधिहरुमा अहिले विचौलियाहरु निर्णायक भइरहेको उनको आरोप छ ।

‘यतिबेलाको आवश्यकता भनेको नेपालको अर्थतन्त्रलाई विचौलियाहरुको हातबाट मुक्त गर्ने हो । कमिसन एजेण्ट र केही प्रमुख व्यापारी घरानाको दवाब र प्रभावबाट अर्थतन्त्रलाई मुक्त बनाउनु हो । विमाको लाइसेन्स, ब्रोकरको लाईसेन्स, स्टक एक्सचेन्जको लाईसेन्स , विद्युत आयोजनाको लाईसेन्सदेखि सेनाको हतियार खरिदमासमेत विचौलियाहरु निर्णायक हुन्छन् ।’ उनले थपे, ‘कुनै भन्सार कार्यालयमा हाकिम पठाउन पर्यो, निर्देशक, महानिर्देशक पठाउन पर्यो, राजश्वमा महानिर्देशक पठाउन पर्यो, कुनै ठाउँमा सचिव परिवर्तन गर्नुपर्यो, कसलाई कहाँ पठाउने भन्ने कुरा सबैभन्दा पहिला विचौलियाहरुले निर्णय गर्छन् ।’



प्रतिक्रिया दिनुहोस्