Logo

अर्थमन्त्री डा. महत र एमसीसीका क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता



काठमाडौं, ८ जेठ । अर्थ मन्त्री डा.प्रकाशशरण महतसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसि) को एशिया, यूरोप, प्यासिफिक र लेटिन अमेरिकाका कार्यक्रम हेर्ने क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सले नेतृत्व गरेको एक प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । भेटका क्रममा एमसीसी परियोजनाको कार्यान्वयनबारे छलफल भएको बताइएको छ । भेटमा नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनको पनि सहभागिता थियो ।

एमसिसि सम्झौता कार्यान्वयनमा जाने मिति (अगष्ट २०२३) नजिकै आएको र यो कार्यान्वयनमा गएको मितिले ५ बर्षभित्र आयोजना सम्पन्न गरिसक्नु पर्ने सन्दर्भमा यसको पूर्वतयारीका अवस्थाको बारेमा जानकारी लिन एमसिसिका पदाधिकारीको भ्रमण भएको हो । भेटघाटका क्रममा डेपुटी भाइस प्रेसिडेण्ट जोनाथन ब्रुक्सले जग्गा प्राप्ति, खरिद प्रकृया जस्ता पूर्वतयारीका काममा भएको प्रगति प्रति सन्तोष व्यक्त गरे । त्यसैगरी, सम्झौता कार्यान्वयनमा जानुपूर्व सम्पन्न भै सक्नुपर्ने बाँकी कार्यका बारेमा पनि दुवै पक्षवीच विस्तृत छलफल भएको थियो ।

सो अवसरमा, अर्थमन्त्री डा. महतले यो आयोजना पूर्वनिर्धारित समयावधिभित्रै सम्पन्न भै नेपालको आयोजना व्यवस्थापनमा उदाहरणीय बन्न सक्ने विश्वास व्यक्त गरे ।
अर्थमन्त्री महतले आयोजना चक्रमा आउने महत्वपूर्ण विषयहरुलाई कानूनको प्रकृया पूरा गरी यथाशीघ्र टुंग्याउने प्रतिवद्धतासमेत जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्