Logo

रास्वपा सांसदको आरजुलक्षित अभिव्यक्तिः ‘टेलिभिजन अन्तरवार्ताले भ्रष्टाचार नपखालियोस्’



काठमाडौं, ९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य मनिश झाले सुनियोजित रुपमा दिइएको टेलिभिजन अन्तरवार्ताले सबै प्रश्नको जवाफ आयो भनेर भ्रममा नपर्न आग्रह गरेका छन् ।

आज (मंगलबार) प्रतिनिधि सभाको बैठकको शुन्य समयमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी र भ्रष्टाचारको प्रकरणमा टेलिभिजन अन्तरवार्ताकै भरमा सबै चिज पखालिन नसक्ने बताएका हुन् । नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम मुछिएपछि केही टेलिभिजन कार्यक्रममा कसम खाएर दिएको अन्तरवार्तालाई लक्षित गर्दै उनले संसद्को ध्यानाकार्षण गराएका हुन् ।

‘देशमा अहिले सबैतिर चर्चा भइरहेको भ्रष्टाचारको विषय, नक्कली शरणार्थी प्रकरणको विषय र त्यसमा हामीले अपेक्षा गरिरहेका केही निर्णयहरु छन् । सुनियोजित र सेटिङमा गरिएको टेलिभिजन अन्तरवार्ताहरुले सबै प्रश्नहरुको जवाफ दिँदैन । यसले सबैचिज पखालियो भन्ने भ्रम पनि नरहोस्,’– उनले भने ।

आफूहरुले संसद्मा भ्रष्टाचारका बारेमा पटक–पटक आवाज उठाएपनि सत्ता पक्षले त्यसको जवाफ दिन नचाहेको उनको आरोप छ । आफूले जानकी मन्दिरको भ्रष्टाचारका बारेमा सदनमा तीन पटक प्रश्न उठाएपनि सत्ता पक्षले अहिलेसम्म जवाफ दिन नचाहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्