काठमाडौं,९ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सरकार विस्तारको तयारी गरेका छन् ।
प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएपछि करिब दुई महिना पछि हुन लागेको मन्त्रिपरिषद् विस्तारमा जसपा नेतृत्वको सरकारमा नेपाली कांग्रेसबाट दुई जना र नेकपा एकीकृत समाजवादीबाट एक जना मन्त्री सहभागी हुन लागेका हुन् । यस्तै लोसपाले भने मन्त्रालयको टुङ्गो नलागेकाले मन्त्रीको नाम टुंगो लगाएको छैन ।
स्रोतका अनुसार यादवले आज नेपाली कांग्रेसका कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार र वीरेन्द्र सिंहलाई स्वास्थ्य तथा नेकपा एसका गोविन्द न्यौपानेलाई कृषिमन्त्री बनाउने तयारी गरेका छन् ।
मन्त्री बन्न लागेका यादव नेपाली कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता हुन् भने सिंह प्रदेस सभा सदस्य रहेका छन् ।
हाल प्रदेश सरकारमा कृषिमन्त्री रहेका वसन्त कुसवाहालाई विना विभागिय मन्त्री बनाउँदै उनको मन्त्रालय न्यौपानेलाई दिन लागिएको हो ।
आफुले पाइरहेको मन्त्रालय खोसिएपछि जनमत पार्टी आन्तरिक छलफलमा जुटेको छ ।
केन्द्र सरकारमा पनि असन्तुष्ट रहेको जनमत मधेश प्रदेश सरकारको यो निर्णयले झनै बिच्किने देखिन्छ । file photo