Logo

काठमाडौँमा पर्यटक बसपार्क निर्माण गर्न एमाले सांसद भट्टराईको माग



काठमाडौं,१० जेठ । नेकपा एमालेकी सांसद् विद्या भट्टराईले काठमाडौंमा तत्काल पर्यटक बसपार्क निर्माण गर्न माग गरेकी छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै भट्टराईले देशका विभिन्न पर्यटकीय सहरहरूमा जाने पर्यटकहरूका लागि व्यवस्थित र सुविधा सम्पन्न पर्यटक बसपार्क काठमाडौँमा निर्माण गर्न सरकारको ध्यानाकर्षण समेत गराएकी छन् ।

‘काठमाडौँमा नेपालका प्रमुख पर्यटकीय सहरहरू पोखरा, चितवन, लुम्बिनी, जनकपुरलगायतका गन्तव्यहरू पर्यटकीय बसहरूले सेवा दिइरहेका छन् । तर सबै बस व्यवसायी सडकबाटै पर्यटकहरू बोक्न बाध्य छन्’ उनले भनिन्, ‘त्यसैले काठमाडौँमा एउटा व्यवस्थित र सुविधा सम्पन्न टुरिस्ट बसपार्क निर्माण गर्न आवश्यक छ । यसका लागि सम्माननीय सभामुखमार्फत सरकारको ध्यानाकर्षण गर्दछु ।’

‘सरकारले सन् २०२३ देखि २०३३ सम्मलाई नेपाल भ्रमण दशकको रूपमा मनाउने योजना अनुरूप नेपाल पर्यटन दशक रणनीतिक कार्य योजना सार्वजनिक गरेको छ । तर देशको राजधानी काठमाडौँमा आजसम्म टुरिस्ट बसपार्क स्थापना हुन सकेको छैन’ उनले भनिन्, ‘व्यवस्थित बसपार्क नबनेका कारण काठमाडौँको सोह्रखुट्टे सडकबाटै बस छुट्न बाध्य छन् । नेपाल प्रवेश गरेपछि देशका विभिन्न पर्यटकीय गन्तव्यहरुमा जानका लागि पर्यटकहरू असुरक्षित भएर सडकमा उभिनुपर्ने बाध्यता छ ।’



प्रतिक्रिया दिनुहोस्