Logo

संसद्मा रविको प्रश्न, ‘प्रधानमन्त्री र गृहमन्त्रीले मुटु दह्रो छ भन्नु भएको थियो, शरणार्थी प्रकरणमा चाहिँ किन डराएको ?



काठमाडौं, १० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरण विशेष संसदीय समिति बनाएर छानविन गर्न आवश्यक रहेको बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै लामिछानेले उक्त प्रकरणमा नाम जोडिन कुनै राजनीतिक दल र राज्यका निकाय बाँकी नरहेको भन्दै विशेष संसदीय छानविन समितिको माग गरेका हुन् ।

‘कुनै राजनीतिक दल छैन, जसलाई आरोप लाग्न बाँकी रहेको छ । त्यतिमात्रै होइन, राज्यका निकायहरुको नाम यसरी आइरहेको छ । अनुसन्धान गर्ने अधिकारी र त्यसका प्रमुखको नाम आइरहेको छ । यो कुनै अध्यारो कोठामा र कुनै गल्लीमा भएको क्रियाकलाप छैन । दिनडहाडै प्रधानमन्त्री कार्यालय बालुवाटारमा, मन्त्री क्वाटरमा र सिंहदरबारमा लेनदेन भएको विषयहरु आइरहेका छन् ।’ उनले भने, ‘यहाँ मुछिएका मान्छेहरु हेर्नुहोस्, कसलाई विश्वास गर्ने ? विश्वासको वातावरण बन्द भएको छ । यसका लागि संसदीय विशेष समिति बनाएर छानविन गर्नुपर्ने हुन्छ ।’

नक्कली शरणार्थी प्रकरणमा नाम मुछिएकाहरु सबैलाई छानविनको दायरामा ल्याउन आवश्यक रहेको उनले बताएका छन् । सरकार नाम मुछिएका भिआईपीहरुलाई सोधपुछ गर्नसमेत डराएको उनको आरोप छ । यस प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठ छानविन गर्न डराएको उनले बताए ।
‘ज–जसको नाम आएको छ, तिनलाई छानविनको दायरामासम्म ल्याउन नहुने, सोधपुछसमेत गर्ननहुने गरी किन डराएको ? गृहमन्त्रीले मुटु दह्रो छ भन्नु भएको थियो, प्रधानमन्त्रीले मुटु दह्रो छ भन्नु भएको थियो । उहाँको मुटु कहाँ गएर चेक गर्ने ? उहाँको मुटु कति दह्रो छ भन्ने कुरा हामीले देखिरहेका छौं,’– उनले भने ।

उनले आफू न्युजरुमबाटै समातिएको घटना स्मरण गर्दै उक्त प्रकरणमा नाम मुछिएकाहरुलाई छानविनका दायरामा ल्याउन माग गरे । नक्कली भुटानी शरणार्थी प्रकरणको अडियो प्रहरी प्रमुखले सही रहेको बताइसकेको उनको भनाई छ । यस्तो अवस्थामा आम नागरिकलाई झैं उनीहरुलाई पनि कारबाहीको दायरामा ल्याउनपर्ने उनको माग छ ।

‘हरेक नाम आएका मान्छेसँग सोधपुछ हुनुपर्यो । उनलाई कारबाहीको दायरामा ल्याउन पर्यो । खुट्टा कमाउन भएन । हाम्रा हकमा, आम नागरिकको हकमा वयान दिन आउँछु भन्दाभन्दै धरपकड गरेर लिएर गएको इतिहास छ । न्युजरुमबाट समातिएको मान्छे म यही छु । मान्छेल अडियो दिएका छन् । प्रहरी प्रमुखले अडियो सही हो भनेका छन् । एक पटक सोधपुछका लागि बोलाउन नहुने को हो उहाँहरु ?’– उनले प्रश्न गरे ।



प्रतिक्रिया दिनुहोस्