Logo

कीर्तिमानी कामीरिता शेर्पालाई विमानस्थलमा स्वागत



काठमाडौं, ११ जेठ । सर्वोच्च शिखर सगरमाथाको २८ पटक सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका कामीरिता शेर्पा आरोहण सकेर आज काठमाडौँ फर्केका छन्।

लुक्लाबाट अपराह्न काठमाडौँ आइपुग्नुभएका कीर्तिमान आरोही शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन परिसरमा भव्य स्वागत गरिएको थियो। उनलाई पर्वतारोही, पर्यटन व्यवसायीलगायतले स्वागत गरेका हुन्।

आरोहणबाट आफू खुसी र उत्साहित रहेको भन्दै यसले देशको साहसिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे।

सगरमाथामा कायम भएको विश्वकीर्तिमानले नेपालको पर्वतारोहण र साहसी पर्वतारोहीको हौसला प्रदान गर्नुका साथै विश्वभर सकारात्मक सन्देश गएको उनले बताए।

शेर्पाले यही जेठ ९ गते बिहान ९:२३ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै उनले २८औँ पटक सगरमाथाको सफल आरोहणको कीर्तिमान बनाएका हुन्। योसँगै उनले यसअघिको सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने आफ्नै कीर्तिमान तोडेका छन्।

यो वर्षको वसन्त ऋतुमा उनको यो दोस्रो पटकको आरोहण हो। यसअघि जारी सिजनमा जेठ ३ गते उनले २७औँ पटक सगरमाथा आरोहण गरेका थिए।



प्रतिक्रिया दिनुहोस्