Logo

सिर्सिया नदीको प्रदूषण नियन्त्रणका लागि आवश्यक सहयोग गर्ने मन्त्री रिजालको प्रतिबद्धता



काठमाडौं, १४ जेठ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले पर्सास्थित सिर्सिया नदीको प्रदूषण नियन्त्रणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नदी प्रदुषण मुक्त अभियानका अभियन्ताहरुलाई आइतबार माइतिघर स्थित धर्ना स्थलमा भेट्दै मन्त्री रिजालले आफू प्रदूषण नियन्त्रणको पक्षमा रहेको बताए । मन्त्री रिजालले सरकारको पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।

सिर्सिया नदी प्रदूषित हुदा यो विषय स्थानीयको जनजिविकासग समेत जोडिने भएकाले हुदा यस विषयमा आफू गम्भीर रहेको बताए । मन्त्री रिजालले यथासक्दो समस्या समाधान गर्नेसमेत विश्वास व्यक्त गरे ।

बारा औद्योगिक करिडोरका उद्योगबाट निस्किने फोहोरका कारण सिर्सिया नदी प्रदूषित हुँदै आएको भन्दै चुरे तथा वन जंगल संरक्षण अभियानले आइतबारबाट माइतीघरमा धर्ना दिएको छ । वीरगञ्जबाट पैदल काठमाडौंसम्म आइपुगेका अभियन्ताहरुले मन्त्री रिजालसमक्ष ज्ञापन पत्रसमेत बुझाएका छन् । सिर्सिया नदीलाई प्रदूषण मुक्त बनाउन औद्योगिक क्षेत्रबाट निस्कने फोहोर नदीमा खसाउन बन्द गर्नुपर्ने अभियन्ताहरुको मुख्य माग रहेको छ ।

ज्ञापन पत्रमार्फत अभियन्ताहरुले सिर्सिया नदी लगायत देशभरका अन्य नदीलाई प्रदुषणमुक्त र अतिक्रमणबाट बचाउन उच्च स्तरीय नदी संरक्षण बोर्डको स्थापना गर्न माग गरेका छन् । त्यसैगरी बिभिन्न स्थानमा वन क्षेत्रको जग्गाहरु उद्योगले कब्जा गरेको भन्दै त्यसलाई फिर्ता गरी वन क्षेत्रलाई हस्तान्तरण गर्न समेत ज्ञापन पत्र मार्फत माग गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्