Logo

वार्षिक विकास कार्यक्रम र मध्यमकालीन खर्च संरचना पारित



काठमाडौं, १५ जेठ । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले बजेटसँगै संसदमा टेवुल हुने वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन खर्च संरचना पारित गरेको छ । आज (सोमबार) प्रधानमन्त्रीको कार्यालय सिंहदरबारका बसेको बैठकमा आयोगका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ, पदेन सदस्य अर्थमन्त्री डा. प्रकाशशरण महत, मूख्य सचिव लगायतको उपस्थिति थियो ।

बैठकमा आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले अन्तर सरकारी वीत्त व्यवस्थापन ऐन, २०७४ ले गरेको व्यवस्था अनुसार मध्यमकालीन खर्च संरचना तयार भएको बताए ।

उपाध्यक्ष श्रेष्ठले वार्षिक विकास कार्यक्रम र मध्यमकालीन खर्च संरचनाबारे जानकारी गराएपछि अर्थमन्त्री डा. महतले धारणा राखेका थिए । प्रधानमन्त्री तथा आयोग अध्यक्ष प्रचण्डले एकीकृत दस्तावेजलाई बैठकमा पेश गर्दै पारित गर्न अनुरोध गरेका थिए ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ मा योजना आयोगले आवधिक योजनाको आधारमा आगामी तीन वर्षको समष्टिगत वित्त खाका, बजेट तथा कार्यक्रमको खाका र नतिजाा खाकासहितको मध्यमकालीन खर्च संरचना तयार गर्नुपर्ने व्यवस्था रहेको छ ।

आवधिक योजना र वार्षिक बजेटबीच तदाम्यता ल्याउने महत्वपूर्ण औजारको रुपमा मध्यमकालीन खर्च संरचना रहेको छ । यस संरचनामा आगामी आर्थिक वर्षको बजेट अनुमान तथा त्यसपछिका दुई आर्थिक वर्षको प्रक्षेपण गरी तीन आर्थिक वर्षको चक्रीय बजेट प्रस्तुत गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्