Logo

यी हुन् प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका एजेण्डाहरु



काठमाडौं, १५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही जेठ १७ गते भारत भ्रमणमा जाँदैछन् । उनको यस पटकको भारत भ्रमणलाई विशेष चासोको रुपमा हेरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्डले छिमेकी राष्ट्र भारतको भ्रमण गर्न लागेका हुन् । गत पुष १० गते तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डको यस पटक यो पहिलो विदेश भ्रमण हो ।

यस पटकको भारत भ्रमणको एजेण्डाबारे दुवै देशका बीच छलफल भइरहेको प्रचण्डले बताएका छन् । यस पटकको भारत भ्रमण दुवै देशका लागि फलदायी होस् भन्ने आफ्नो अपेक्षा रहेको प्रधानमन्त्री प्रचण्डले भने । ‘यसपटक राष्ट्रिय हितका पक्षमा र नेपाल–भारत दुवैको आपसी हितको पक्षमा केही राम्रा निर्णय होउन् भन्ने चाहनाका साथ दुवैतर्फबाट पहल भएको मैले महसुस गरेको छु,’– उनले भने ।

यस पटकको भारत भ्रमणका एजेण्डा उर्जा, विद्युय व्यापारसँग सम्बन्धित रहेको उनले बताए । ‘ऊर्जासँग सम्बन्धित केही समझदारीका कुरा छन् । दीर्घकालीन विद्युत् व्यापारसँग सम्बन्धित केही विषयलाई भ्रमणका क्रममा उठाउनेछौँ । जुन नेपालका लागि दूरगामी महत्वको रहेको छ । धेरै वर्षदेखि नेपाली जनताले खोजिरहेको पनि यही हो । हामीले ऊर्जा उत्पादन गरिसकेपछि त्यसको बजार भनेजस्तो भएन भने ठूलो लगानी आउँदैन भन्ने महसुस गरेका छौँ । मेरो आशा र अपेक्षा छ की यसपठक त्यो गाँठो फुक्छ,’– उनले भने ।

साथै, नेपाल, भारत र बङ्गलादेशका बीचमा त्रिपक्षीय ऊर्जा व्यापार गर्ने वातावरण बनोस् भन्ने आफूले चाहेको पनि उनले बताए । दोधरा– चाँदनीमा सुख्खा बन्दरगाह निर्माण लगायतका थुप्रै कुराहरु भारत भ्रमणका एजेण्डा रहेको उनले बताए ।

 



प्रतिक्रिया दिनुहोस्