काठमाडौं, १६ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा जाँदा भारतले प्रयोग गरेको नेपाली भूगोल समेटेको नक्सा हटाउन सक्दैनन् भने किन भारत जाने भनेर प्रश्न गरेका छन्।
मङ्गलबार अखिल नेपाल महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सो कार्य गर्न नसक्ने भने किन भारत भ्रमणमा जाने भन्दै प्रश्न गरेका हुन्।
उनले भने, ‘भोलि प्रधानमन्त्रीजी भारत भ्रमणमा जाँदै हुनुहुन्छ। उहाँले त्यो नक्सा हटाउनुस्। त्यो गल्ती सच्याउनुस् भनेर कुरा गर्नुपर्छ। त्यति कुरा गर्न सक्नुहुन्न भने भारत भ्रमणमा किन जाने?’
भारतले नयाँ संसद् भवनमा नेपालको केही भूमीलाई समेटर आफ्नो नक्सा निर्माण गरेको छ। त्यसको नेपालमा विरोध भइरहेको छ।