Logo

यूथ आईजिएफको अध्यक्षमा आनन्द गौतम



काठमाडौं, १७ जेठ । यूथ इन्टरनेट गभरनेन्स फोरमको अध्यक्षमा आनन्द गौतम चयन भएका छन् । ‘खुला समावेशी र सुरक्षित इन्टरनेटका लागि युवाहरूको सशक्तीकरण’ भन्ने मूल नाराका साथ सम्पन्न भएको आईजिएफको वार्षिक सभाबाट गौतम अध्यक्षमा चयन भएका हुन् ।

यूथ आईजिएफ संयुक्त राष्ट्र इन्टरनेट गभर्नेन्स फोरम सचिवालय द्वारा सन् २०२१ डिसेम्बरमा अङ्गकृत गरिएको एक राष्ट्रिय युवा अभियान हो । इन्टरनेटको सञ्चालन तथा सुशासनका मुद्दाहरूको सार्थक छलफलमा युवाहरूलाई प्रोत्साहित गर्न र युवाहरूको भूमिका थप सशक्त बनाउनका लागि यूथ आईजिएफको स्थापना भएको हो ।

फोरमको वार्षिक कार्यक्रम नेपाल दूर सञ्चार प्राधिकरणका अध्यक्ष पुरुस्वत्तम खनालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न सरोकारवाला समूहहरू र युवाहरूको उपस्थिति थियो ।

कार्यक्रममा युनेस्कोका नेपाल प्रतिनिधि माइकल क्रफ्टले किनोट,  संयुक्त राष्ट्र इन्टरनेट गभर्नेन्स फोरम सचिवालयका क्षेत्रीय तथा राष्ट्रिय अभियान संयोजक आन्या गेन्जो, नेपाल इन्टरनेट गभरनेन्स फोरमका अध्यक्ष वीरेन्द्र कुमार मिश्र, इन्टरनेट गभरनेन्स इन्स्टिच्युट प्रमुख कार्यकारी बाबुराम अर्याल तथा एसिया प्यासेफिक क्षेत्रीय इन्टरनेट गभर्नेन्स फोरमका उपाध्यक्ष आशिर्वाद त्रिपाठी, विद्युतीय सुशासन आयोगका प्रमुख कार्यकारी अधिकृत दीपेश विष्ट, फोरमका अध्यक्ष दीपा भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम इन्टरनेट सुशासनका लागि युवाहरूका मुद्दाहरू कसरी सवलीकरण गर्ने र यसको नीति निर्माण तहमा युवाहरूको भूमिका कसरी सशक्त बनाउने भन्ने विषयमा केन्द्रित रहेको थियो ।

विद्युतीय सुशासन आयोगका प्रमुख कार्यकारी अधिकृत विष्टले सूचना प्रविधिको युगमा सरकारी सेवाहरू कसरी सर्वसुलभ पहुँचका लागि रूपान्तरण गर्न सकिन्छ र यसको लागि आयोगले गरिरहेको पहलकदमी कार्यहरूको विषयमा प्रकाश पारेका थिए ।

फोरमका निर्वातमान अध्यक्ष भट्टराईले नवनिर्वाचित अध्यक्ष गौतमलाई नेतृत्व हस्तान्तरण गरेकी थिईन् । फोरमको उपाध्यक्षमा सुरेन्द्र तिवारी चयन भएका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्