काठमाडौं, १८ जेठ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अहिले देश संकटमा परेको टिप्पणी गरेका छन् । आज (बिहीबार) पार्टी निकट संगठन युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले लिम्पिया धुरा र कालापानीमा विदेशीहरुले बुट बजारीरहेको बताए ।
‘राष्ट्रियतामा झनझन संकट पर्दैछ । हाम्रो देशको सीमान अहिलेसम्म पनि अंकित छैन । लिम्ष्यिाधुरा कालापानीमा विदेशीहरुले बुट बजारी हरको छ । छिमेकीबीचको सम्बन्ध सौहार्दपूर्ण हुनुपर्ने हो । हामी नियती भोग्न बाध्य छौं । भारतका प्रधानमन्त्रीले भारतको नयाँ संसद् भवन उद्घाटन गर्दा नक्सा पनि उद्घाटन भयो । त्यो नक्सामा हाम्रो लुम्बिनी समावेश भयो,’– उनले भने ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेता खनालले देशको राष्ट्रियताको पक्षमा दृढतापूर्वक अगाडि बढ्न आग्रह गरे ।
नक्कली भुटानी शरणार्थी काण्ड राष्ट्रघाती र देशद्रोही काण्ड भएको उनको भनाई छ । यस घटनाले नेपाली नेताहरुलाई जनताले विश्वास गर्ने अवस्था गुमेको उनको भनाई छ । ‘यो देशमा नक्कली भुटानी शरणार्थी काण्ड आयो । यो राष्ट्रघाती र देशद्रोही काण्ड हो । यहाँ भन्दा लज्जास्पद घटना अरु केही हुँदैन । नैतिक संकट देखियो । कसलाई पत्याउने ? जनताले कुन नेतालाई पत्याउने ?’– उनले भने ।
आफू समावेश भएको कार्यक्रममा आक्रमणको प्रयास भएको उनले बताए । कार्यक्रममा केही मान्छेहरुले बोल्न मागेको र आफूविरुद्ध तथानाम बोलेको उनको आरोप छ ।
‘हिजो म एउटा कार्यक्रममा गएँ । त्यहाँ वामपन्थी नेताहरु सहभागी थिए । केही मान्छेहरुले बोल्न मागे । बोल्न दिइयो । बोल्ने क्रममा तथानाम, यहाँ मैले भन्न पनि नहुने शब्द प्रयोग गरे । सबै पार्टीहरुका विरुद्ध, नेताहरुका विरुद्ध र विशेष गरी मेराविरुद्ध विभिन्न ढंगले आरोप लगाएर बोल्ने कुराहरु भए । यो बोल्न पाईदैन भन्दा उनीहरुको गुण्डा ग्याङ आएको रहेछ, त्यो गुण्डा ग्याङले नारा लगाउन थाल्यो । फलाना चोर, देश छोड्जस्ता नारा लगाइयो,’– उनले भने ।