Logo

मैले जमिन सट्टापट्टाको कुरा गरेकै होइनः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले भारत भ्रमणको क्रममा जमिन सट्टापट्टाको कुरा नगरेको दाबी गरेका छन् । आज (बुधबार) राष्ट्रिय सभामा सार्वजनिक महत्वका विषयमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा बंगलादेशको मोडल अध्ययन गरेर त्यसलाई पनि विकल्पको रुपमा लिनसकिन्छ भनेको बताएका हुन् । उक्त कुरा नेपालमा सीमाविदहरुले लामो समयदेखि उठाउँदै आएको पनि उनले स्पष्ट पारे ।

‘मैले औपचारिक कुनै पनि बैठकमा जमिन सट्टापट्टाको कुरा गरेकै छैन र गरेको होइन । खाली कालापानी लिपुलेक र लिम्पियाधुरा नेपालको हो, त्यो समस्या छिटोभन्दा छिटो वार्ता र संवादद्वारा हल गर्नपर्छ मात्रै भनेको हो । मैले नेपाली पत्रकारहरुसँग कुरा गर्दा यो विषयमा धेरै विचारहरु पनि छन्, नेपालकै कतिपय बुद्धिजीवीहरुले हामीले यदि बंगलादेशको मोडेलबारे अध्ययन गरेर त्यसलाई पनि लिनुपर्छ या बंगलादेश जाने बाटो हामीले पाउने हो भने समस्याको त्यो पनि समाधान हुनसक्छ भनेका छन् भन्ने सन्दर्भमा मैले यो कुरा बोलेको हो,’– प्रधानमन्त्री प्रचण्डले भने ।

नेपालमा सीमा समस्या समाधानका बारेमा सरकारले समय समयमा अध्ययान गराइरहेको उनले बताए । ०७२ साल र०७७ सालमा भएको अध्ययनमा पनि बुद्धिजीवी र विज्ञहरुले परिस्थिति जटिल भएको अवस्थामा सट्टापट्टा गर्न सकिने सुझाव दिएको उनको दाबी छ । सट्टापट्टा मोडलको आविष्कार आफूले नगरेको र सट्टापट्टाको बारेमा भारत सरकारसँग कुनै पनि औपचारिक संवाद नभएको उनको दाबी छ ।

‘त्यसकारण यो मैले आविष्कार गरेको कुरा पनि होइन । यो भारत सरकारसँग अहिले नै औपचारिक ढंगले प्रस्तावित गरिएको कुरा पनि होइन । यस्ता पनि विचारहरु छ चाहिँ मैले भनेको हो,’– प्रधानमन्त्री प्रचण्डले भने ।

 



प्रतिक्रिया दिनुहोस्