Logo

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.बराल भन्छन्ः ‘९० प्रतिशत क्यान्सरको कारक सूर्तिजन्य पदार्थको सेवन हो’ (भिडियोसहित)



काठमाडौं, २८ जेठ । नेपालमा नसर्ने रोगको प्रकोप तीव्र रुपमा विकास भइरहेको छ । यसको प्रमुख कारकको रुपमा धुम्रपान, मध्यपान र सूर्तिजन्य पदार्थलाई लिने गरिन्छ । सूर्तिजन्य पदार्थको प्रयोगबाट विश्वमा प्रतिमिनेट १९ जना मानिसको मृत्यु हुनेगरेको तथ्याङ्कहरु सार्वजनिक भइरहेका छन् । यसै सन्दर्भमा आज (आईतबार) नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहकार्यमा रिपोर्टर्स क्लब नेपालले ‘धुम्रपान तथा सूर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम, नियन्त्रण, निदान र उपचार सम्बन्धी अन्तरक्रिया गरेको छ । क्लबका सभापति एवं प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाको अध्यक्षतामा भएको उक्त अन्तरक्रियामा विषयविज्ञ र सरोकारवाला निकायहरुको सहभागित थियो ।

अन्तरक्रिया कार्यक्रममा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.राजेन्द्र बरालले क्यान्सर हुने कुरा सबैलाई थाहा भएको र क्यान्सर मानिसका सबै अङ्गमा हुन सक्ने बताए । उनले क्यान्सरका धेरै कारकतत्वमध्ये पहिलो सूर्तिजन्य पदार्थ भएको बताए । सूर्तिजन्य पदार्थले क्यान्सरमात्र नभएर अरू विभिन्न रोगहरू निम्त्याउने डा. बरालको भनाई छ ।

सूर्ति सेवनबाट विभिन्न असर देखापर्ने बताउँदै उनले भने,–‘सूर्ति प्रयोग गर्ने युवाहरूको चाँडैनै गाला चाउरिने, आँखा अन्धोपन हुने, कान कम सुन्ने, हड्डिहरूमा सुस्तसुस्त प्वाल पर्ने, सानो उमेरमै हड्डि खराब भएर जान्छ ।’ उनले भुटान धुम्रपानमुक्त देश हुँदा नेपाल किन हुन सक्दैन ? भन्दै प्रश्न गर्दै भने, ‘कम्बोडिया, आयरल्यान्डमा सूर्ति पदार्थको खेति गर्न पाइदैन ।’

नेपाल सूर्तिजन्य पदार्थमा एसियमा सबैभन्दा कम कर भएको मुलुक भएको उनको भनाई छ । नेपालामा सूर्तिजन्य वस्तुमा जम्मा ३८ प्रतिशत रहेको उनले बताए । उनले सूर्तिजन्य पदार्थमा कर बढाउँदा सेवन गर्नेको संख्या पनि घट्दै जानसक्ने उल्लेख गरे । उनले सूर्तिजन्य पदार्थको खेती गर्दा गाई बस्तुलेसमेत नखाने तर त्यस्तो चिज मान्छेले खाने गरेको उल्लेख गरे । ‘एउटा चुरोटको खिल्ली ४/५ हजार रसायनिक पदार्थ हुन्छन््, करिब ७० प्रकारका क्यान्सर लगाउछ । सबैजनाले निकोटिन भन्छन्, निकोटिनले लत मात्रै लगाउने हो,’ उनले भने ।

उनले सूर्तिजन्य पदार्थ सम्बन्धी कानुन बनेको र त्यो फितलो भएको उनको भनाई छ । उनले भने, ‘मापसेमा प्रहरीले पुर्जा काट्छभने चुरोट सेवनमा पनि प्रहरीले पुर्जा काट्नु पर्यो। सम्बन्धित संस्थाले पुर्जा काट्नु पर्यो। कर बढाउनु पर्यो। १ सय रूपैया हैन जरिवाना धेरै बढाउनुपर्यो। मान्छेलाई डर त्रासपनि देखाउनु पर्यो ।’

सूर्तिसेवन गर्ने मान्छेलाई ९० प्रतिशत क्यान्सर हुने र केही १० प्रतिशतलाई बच्न सक्ने उनले दाबी गरे । उनले धुम्रपान नगर्न र धुम्रपान गर्नेहरूलाई पनि छोड्न आग्रह गरे ।

पूर्व स्वास्थ्यमन्त्री तथा एमालेका नेता शेरबहादुर तामाङले नेपालमा सूर्तिको उत्पादन कम हुने र विदेशबाट नै धेरै ल्याउने बताए । उनले सरकारले सूर्तिजन्य कुराहरूमा कर लगाएको र त्यो करले अस्पताल बनाएको भन्ने गरेको बताउँदै भने, ‘क्यान्सर भन्सारबाट भित्र्याउने र त्यो क्यान्सर भित्र्याएको पैसाले अस्पताल बनाएको भन्नुको के अर्थ हुन्छ ?’

उनले सूर्तिजन्य पदार्थ नेपाल भित्रिनेमै प्रतिबन्ध लगाउनुपर्ने बताए । वार्षिक सूर्तिजन्य पदार्थ प्रयोगका कारणले क्यान्सर भएर २७ हजार मान्छे मर्ने बताउँदै उनले भने, ‘गाँजा खाएर १ जना पनि मर्दैनन् ।’
सूर्तिबाट क्यान्सर हुने र त्यसको उपचार गर्न कहिलेकाँही करौडौँ खर्च गरेरपनि निको नहुने बताए। उनले भने, ‘जति सूर्तिबाट आउने करको कुरा गर्छौं त्यो भन्दा धेरै ठूलो खर्बौ पैसा नागरिकको क्यान्सरमा खर्च हुन्छ ।’ उनले नेपालभित्र सूर्ति उत्पादन रोक लगाउने र विदेशबाट आयातमा रोक लगाउनुपर्ने बताए। विगतमा गाँजा प्रतिबन्ध लगाउँदा सूर्ति सित्तैमा बाडेर मान्छेलाई क्यान्सर बाडेको उनको दाबी छ । गाँजाबाट क्यान्सरको औषधी बन्ने गरेको अनुसन्धानहरूले देखाएको उनको दाबी छ ।

गाँजाबाट बनाइएको औषधिबाट क्यान्सरको उपचार धेरै सस्तो भएको बताउँदै उनले भने, ‘१ करोड क्यान्सरको उपचारमा खर्च लाग्योभने गाँजाबाट बनेको औषधीले उपचार गर्दा १÷१.५ लाख रूपैयाँभन्दा कम पर्न सक्छ ।’

उनले सरकारले स्वास्थ्य बिमा लागु गर्नुपर्ने र शतप्रतिशत उपचार हुने बिमा योजना ल्याउनु पर्ने बताए । आफ्नो स्वास्थ्यको बारेमा आफैलेपनि सोच्नुपर्ने उनले बताए । सरकार र प्रतिपक्षमा रहेका दलहरूको सूर्ति र सूर्तिजन्य पदार्थ सेवन, आयात र उत्पादनमा प्रतिबन्ध लगाउनुपर्नेमा एकै हुनुपर्ने सुझाव दिए । सो कुरामा प्रतिबन्ध लगाएपछि अस्पताल खोल्नेकुरामा हुने अर्बौ रूपैयाँ खर्च अरू विकास निर्माणको कार्यमा खर्च हुने बताए ।

नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सूर्तिजन्य पदार्थ, व्यक्तिगत, पारिवारिक, सामाजिक, क्षेत्रीय, राष्ट्रिय र अन्तराष्ट्रिय सबै दृष्टिकोणले काम लाग्ने विषय नभएको बताए । उनले आफूले आजसम्म कुनै पनि प्रकारका सूर्तिजन्य वस्तुहरुको सेवन नगरेको उनले प्रष्ट पारे । राज्य लगायत विभिन्न सरोकारवाला निकाय सूर्तिको असर र फाइदाका बारेमा विभिन्न संवाद भइरहेको भएपनि सूर्तिको प्रयोग बढ्दो रहेको भन्दै उनले चिन्ता व्यक्त गरे । ९० प्रतिशत क्यान्सरका रोगहरु सूर्ति सेवनको कारण भएको तथ्याङ्कहरु प्रकाशित भइरहेको उनको भनाई छ ।

‘९० प्रतिशत मानिसहरु सूर्तिजन्य पदार्थको प्रयोगबाट क्यान्सर पीडित भइराखेका छन् । देशको आर्थिक उन्नति र नागरिकहरुको स्वास्थ्य, सुख र समृद्धिमा पनि ध्यान दिन पर्यो । हामीले केही मौलिक निर्णय गर्नुपर्यो । हामीले गाँजा खानेलाई चाहिँ कारबाही गरिरहेका छौं । गाँजाले क्यान्सर पनि हुँदो रहेन छ । टाउको पनि दुख्दो रहेन छ । अल्सर पनि हुँदोरहेन छ । गाँजाले ब्लड प्रेसर र सुगर पनि बढ्दो रहेन छ । अलिकति सोच्नुपर्ने विषय छ,’– उनले भने ।

सरकारले सूर्तिजन्य पदार्थको सेवनलाई कडाइका साथ नियन्त्रण र नियमण गर्नुपर्ने तर्फ लक्षित गर्दै उनले ५० ग्राम गाँजा भेटेर प्रहरीले समातेको फोन आएको तर चार बट्टा चुरोट बोकेर हिँडेपनि प्रहरीले समात्यो भनेर कहिले पनि फोन नआएको विश्वकर्माको भनाई छ ।

‘साँझसाँझ परेपछि हामी नेताहरुलाई एक दुईवटा फोन आइहाल्छ, सानो भनाभन भएको थियो रेष्टुरेन्टमा । मलाई पुलिसले यहाँ पो ल्यायो भनेर फोन आइहाल्छ । म गाँजा खाँदै थिएँ, हामी दुई जनाबीचमा भनाभन भयो । मलाई प्रहरीले ल्यायो भन्ने फोन आएको छैन । तर, मलाई भेट्यो, पुलिसले छाम्यो गाँजा भेटाए ल्यायो भन्ने फोन आउँछ । तर, चार वटा चुरोट गोजीमा थियो । प्रहरीले समायो भनेर अहिलेसम्म फोन आएको छैन,’– विश्वकर्माले भने ।

सरकारले मादक पदार्थ र सूर्तिजन्य पदार्थको आयत बन्द गर्नु आवश्यक रहेको उनले बताए । ‘रक्सी अथवा मादक पदार्थ, अल्कोहलजन्य पदार्थको आयत र सूर्तिजन्य पदार्थको आयत बन्द गरिहालौं । राम्रो नराम्रो जस्तो भएपनि नेपालकै रक्सी प्रयोग गरौं न । व्यापार घाटा छ भनेको छ, रक्सी, चुरोट र सूर्तिजन्य पदार्थका लागि हाम्रो देशको पैसा गइराखेको छ,’– उनले भने ।
विकट बस्तीहरुमा चामल पुर्याउन नसकेको अवस्थामा लक डाउनका बेलामा औषधी र खाद्यन्न पुर्याउन नसकेको अवस्थामा पनि हेलिकोप्टरबाट चुरोट वसारपसार गरिएकोसमेत नेता विश्वकर्माले स्मरण गरे ।

कोरियाको छ्याङ दरबारमार्गमा पाइने बताउँदै उनले नेपालको काभ्रेको छ्याङ काठमाडौं ल्याउने क्रममै मुद्दा लाग्ने भन्दै राज्यको नीतिमाथि प्रश्न उठाए । नेपालको सूर्तिजन्य पदार्थको आयतलाई बन्द गर्ने र सार्वजनिक स्थानमा धुम्रपानको निधेषलाई कार्यान्वयन गराएको खण्डमा प्रभावकारी नियन्त्रण हुने उनको भनाई छ । चुरोट तान्दै गरेको व्यक्तिलाई कारबाही गरी जरिवाना अशुली बढाउन आवश्यक रहेको उनको भनाई छ ।

अहिलेको अर्थतन्त्र सुधारको उपाय शुल्क घटाउने र जरिवाना बढाउने कार्य नीति ल्याउन आवश्यक रहेको उनले बताए । नेता विश्वकर्माले जन्म दर्ता शुल्क, विवाह दर्ता शुल्क, मृत्यु दर्ता शुल्क लगायतका शुल्कलाई घटाएर जरिवाना बढाउन सकेमा जसले गल्ती गर्छ उसलेमात्रै तिर्न भएकाले जनतामाझ राम्रो सन्देश जाने बताए । सूर्तिजन्य पदार्थ र अल्कोहलको आयतमा प्रतिबन्ध लगाउने कुरा र देशभित्र नियमण गर्ने कुरामा राज्य कडाइका साथ लाग्न आवश्यक रहेको उनको भनाई छ ।

मान्छेलाई नोक्सानी पुग्दैन र राज्यलाई फाइदा पुग्छ भनेर नै अहिलेको सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भनेर बजेट ल्याएको उनले दाबी गरे ।सूर्तिजन्य पदार्थको नियन्त्रण गरी नेपालीहरु सबैलाई स्वस्थ्य बनाउने अभियानमा लाग्न उनले सबैसमक्ष अपीलसमेत गरे ।

 



प्रतिक्रिया दिनुहोस्