Logo

शिवाकोटीको प्रश्न : साढे चार वर्षपछि हुने चुनावलाई लिएर किन पार्टीमा अहिलेदेखि नै रक्षात्मक भाव बढेको?



दोलखा, २७ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले साढे चार वर्षपछि हुने चुनावलाई लिएर किन पार्टीमा अहिलेदेखि नै रक्षात्मक भाव बढेको भनी प्रश्न गरेका छन् ।

नेपाली कांग्रेस दोलखाको प्रथम जिल्ला सम्मेलनलाई आइतबार सम्बोधन गर्दै शिवाकोटीले पार्टीको मूल नेतृत्वलाई प्रश्न गर्दै भने, ‘४ वर्ष पछिको स्थानीय चुनाव र साढे ४ वर्षपछिको संघीय तथा प्रदेश चुनावलाई लिएर कांग्रेस अहिलेदेखि नै रक्षात्मक किन छ ? तीनै तहमा रहेका जनप्रतिनिधीका गतिविधिसँग नेता कार्यकर्ता किन सन्तोष जनाइसहेका छैनन् ? के भएको छ कांग्रेसलाई ?’

शिवाकोटीले वर्तमानमा उब्जेका यावत प्रश्नको उत्तर स्वयं कांग्रेस नेतृत्वसँग पनि नभएको भन्दै यो निराशाको चिरफार गर्ने हैसियत नागरिकहरुको सुखदुखमा जोडिएको ‘तपाईहरुसँगै छ’ भनी गम्भीर बन्न स्थानीय नेता कार्यकर्ता सबैलाई आग्रह गरे ।

उनले अब कांग्रेसलाई बैशाखी टेक्ने नभइ टेको बिना खडा हुने पार्टी बनाउनु पर्ने बताए। आफूले धेरै जिल्लामा पुगेर छलफल गर्दा टिकट वितरण अब सच्चिनुपर्छ भन्ने निचोडमा पुगेको बताउँदै भने, ‘कांग्रेसले सूर्यमुखी फूल जस्तो सबैकुराको लागि मास्तिर फर्केर मुख ताक्ने होइन लज्जावती फूल जस्तो तलतिर फर्केर निर्णय लिन सक्नुपर्छ ।’

नेता शिवाकोटीले ‘संघ, प्रदेश, स्थानीय सबैतिर जितेका छौं। हामी खुशी हुनुपर्ने हो, विजयको गाथा गाइएको हुनुपर्ने हो, तर के अवस्था त्यस्तै छ त ?’ भनी प्रश्न गरे ।



प्रतिक्रिया दिनुहोस्