काठमाडौं, ३१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार निर्मूल पार्नका लागि सरकार दृढतापूर्वक अगाडि बढेको र कसैसँग नझुक्ने बताएका छन् । आज (बुधबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका दिवंगत नेता डिआर पौडेलको चौथो स्मृति सभालाई सम्बोधन गर्दै उनले सरकारका लागि सबै भन्दा ठूलो सुशासन कायम र जनताको सेवा रहेको बताउँदै सरकार छाड्न परेपनि कसैसँग सम्झौता नगर्ने बताएका हुन् ।
‘हामीले भ्रष्टाचारका विरुद्ध संघर्षबाटै सूरु गर्नुपर्छ भन्ने निष्कर्षमा पुग्यौं । थुप्रै–थुप्रै जटिलताका विरुद्ध हामी दृढताका साथ अगाडि बढेका छौं । हामी कुनै सम्झौता गर्ने छैनौं । अन्तिम समयसम्म संघर्ष गरिराख्ने छौं । यो अवसरवादी, दक्षिणपन्थीहरु र प्रतिक्रियावादीहरुलाई विल्कुल मन परेको छैन,’– प्रधानमन्त्री प्रचण्डले भने ।
चुनावमा खुम्चिएको र चारैतिरबाट घेराबन्दीमा परेको पार्टीका नेताहरु आएर राम्रो काम गरेर जनताको मन र राष्ट्रको हितमा काम गरेको अवसरवादी, दक्षिणपन्थीहरु र प्रतिक्रियावादीहरुलाई मन नपरिरहेको उनले बताए । अहिले प्रतिनिधि सभामा भइरहेको गतिविधि र हर्कतलेसमेत त्यसलाई पुष्टि गर्ने उनको भनाई छ । पार्टीमा विशृङ्खलित र विचलित भइरहेको उनको भनाई छ । नेता कार्यकर्तालाई उनले किताबमा लेखिएको जस्तो सोझो बाटोमा लडाई नभएको र त्यो जारी रहेको उनले बताए । आफूहरुले सकेसम्म एकबद्ध भएर राष्ट्र र जनताको हितमा मिसन अगाडि बढाउन लागि परेको उनले बताए ।
देशमा लामो संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धीको रक्षा गर्ने जिम्मेवारी आफ्नो काँधमा रहेको महशुस गरेको समेत उनले बताएका छन् । केही वर्षदेखि गणतन्त्र, समनुपातिक समावेशिता लगायतका उपलब्धीमाथि निरन्तर रूपमा दक्षिणपन्थीबाट प्रहार भइरहेको उनको दाबी छ ।
दक्षिणपन्थीहरुको प्रहारलाई रोक्न र प्राप्त उपलब्धीहरुलाई बचाउन विभिन्न दलहरुसँग गठबन्धन र सहकार्य गरेर अगाडि बढेको उनले बताए । आफू प्रधानमन्त्री भएको पहिलो दिनदेखि नै जनतालाई सुशासन र सेवा कसरी प्रदान गर्ने भन्ने सन्दर्भमा काम गरेको प्रधानमन्त्री प्रचण्डले बताए ।
त्यसअघि आजै माओवादी केन्द्र निकटका पत्रकार हरुको संगठन प्रेस सेन्टर नेपालको टोलीसँग बालुवारस्थित निवासमा भएको भेटमा पनि प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्ध लड्दालड्दै सरकार छाड्न परे पनि परोस् भनेर सोचिएको बताएका थिए । उनले भने, ‘भ्रष्टाचार र बेथितीविरुद्ध लड्दा लड्दै बरु सरकार गए जान्छ भन्ने सोचिएको छ के । यो विषयमा गलत सम्झौता गर्नुभन्दा बरु सरकार छोड्नु र जनतामा जानु बढी लाभदायक छ भन्ने मेरो बुझाइमा ।’