काठमाडौं, १ असार । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले बजेट अत्यन्त अलोकतान्त्रिक र पक्षपातपूर्ण ढंगबाट आएको बताएका छन् । आज (शुक्रबार) यो बजेट लोकतान्त्रिक र गणतान्त्रिक नभएर ठालुतन्त्र भएको टिप्पणी गरे । उनले संसद्को रोस्टमबाटै ‘ठालुतन्त्र मुर्दावाद’ को नारा लगाए । सरकारले रेलमार्ग, राजमार्ग र पूर्वाधार निर्माणका सन्दर्भमा छुट्याएको बजेट लक्ष्यबेगर रहेको उनले बताए ।
‘आफ्नो हात, जगन्नाथ जस्तो गरेर जसको हातमा डाडु पन्यू छ उसैको भागमा पार्ने खाल्को, यो एक हिसाबले गैरलोकतान्त्रिक, गलत र पक्षपातपूर्ण विनियोजन सर्वत्र विद्यामान छ ।’ उनले भने, ‘चाहे रेलमा भन्नुस्, चाहे राजमार्गमा भन्नुस्, चाहे अरु खाल्का पूर्वाधार निर्माणमा भन्नुस् कुनै लक्ष्य बेगरको अत्यन्त न्यून बजेट विनियोजनले सर्वत्र चिन्ता बढाएको स्थिति सिर्जना भएको छ ।’
संसद्मा बजेटमाथि अर्थमन्त्रीले जवाफ दिएपछि पनि सत्ता गठबन्धनका दलबीच बजेट संशोधनका विषयमा छलफल भएको भन्दै उनले आपत्ति जनाए । गठबन्धन जोगानका लागि कुन–कुन शीर्षका बजेट विनियोजन भएको हो र यसमा अर्थमन्त्रीको सहमति हो कि होइन भन्ने विषयमा एमाले स्पष्ट हुन चाहेको उनले बताए । सत्ता गठबन्धन जोगाउनकै लागि बालुवाटारमा बजेट संशोधन हुने हो भने संसद्मा बजेट विनियोजनमाथि छलफल गरेर नौटंकी गर्नुको कुनै औचित्य नरहेको उनको भनाई छ ।
‘अर्थमन्त्रीसँग प्रश्नोत्तर भयो । हाम्रा प्रश्नको जवाफ पनि दिनुभयो । भोलिपल्ट बालुवाटारमा गठबन्धनको नाममा बैठक गरेर बजेट संशोधन गरेर असन्तुष्टि सम्बोधन गर्ने । कस–कसका असन्तुष्टिहरु सम्बोधन गर्ने ? बालुवाटारमा ठालुहरुले निर्णय गरेर संशोधन हुन्छ भने यो संसद्मा यो नौटंकी किन गर्नुपर्यो ?’ सांसद थापाले प्रश्न गरे ।
संसद्मा सांसदहरुसँगको छलफलका क्रममा बजेटमा कमा र फुलिष्टपसमेत संशोधन गर्न नचाहने अर्थमन्त्री यसले बालुवाटारको सत्ता गठबन्धन बैठकमा संशोधनका लागि तयार हुनुमा रहस्य रहेको उनको आरोप छ ।
‘अर्थमन्त्रीले जवाफ दिइसकेपछि बालुवाटारमा गठबन्धनका ठालुहरु बसेर गर्न खोजिएको के हो ? संविधान, कानुन, प्रक्रिया र पद्धतिले यो भन्छ कि भन्दैन ? तपाईँ सांसदहरुको प्रश्नमा कमा र फुलिष्ट पनि संशोधन गर्न चाहनुहुन्न ।’ उनले भने, ‘तर, बालुवाटारमा बैठक बसेर संशोधन गर्ने भन्ने समाचार सार्वजनिक हुन्छ । के– के विषयमा संशोधन हो ? अर्थमन्त्रीले सहमति जनाउनु भएको हो कि होइन ? गठबन्धनका नाममा संविधानविपरीत अभ्यास गर्न पाइन्छ कि पाइन्न ?’