काठमाडौं, १ असार । नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले स्वच्छ, निष्पक्ष, छिटो छरितो एवं गुणस्तरीय न्याय सम्पादन गरी सबैका लागि न्याय सुनिश्चित गर्नु आफ्नो मुख्य जिम्मेवारी भएको बताएका छन्।
संसदीय सुनुवाइ समितिमा प्रस्तुत गर्नुभएका कार्कीले आफ्नो कार्ययोजनामा न्याय प्रशासनलाई प्रभावकारी बनाउने जिम्मेवारीप्रति त्यतिकै सजग र संवेदनशील रहने पनि स्पष्ट गरे।
प्रधानन्यायाधीश कार्कीले भने, “सबैका लागि न्याय सुनिश्चित गर्ने मुख्य जिम्मेवारीप्रति त्यतिकै प्रतिबद्ध रहनेछु। प्रस्तुत कार्ययोजनाबाट न्यायिक सुशासन र न्यायपालिकाप्रतिको आस्था एवं विश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने ठानेको छु।”
विसं २०१५ भदौ २५ गते ओखलढुङ्गाको माम्खामा जन्मेका प्रधानन्यायाधीश कार्कीले विसं २०३९ मा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा सङ्कायमा स्नातक गरेका थिए।
लामो समयसम्म वकालत पेसामा रही आफ्नो छवि बनाएका उनले विसं २०६९ मा वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गरेका थिए।