काठमाडौं, ४ असार । घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको शेयर निष्कासन प्रक्रिया विवादमा परेको छ।
उक्त कम्पनीको क्रेटिङ रेटिङ र प्राथमिक शेयर निष्कासन (आइपिओ) को आवेदनमा शङ्का लागेपछि प्रक्रिया स्थगित गरिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ। यो कम्पनीको आइपिओ खरिदमा नक्कली आवेदन परेकोसमेत देखिएको छ।
धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठका अनुसार घोराही सिमेन्टको क्रेडिट रेटिङ र आइपिओ आवेदनमा शङ्का लागेपछि स्थगित गरेको हो। धितोपत्र बोर्डले आज कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक रहेका हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई पत्र पठाउँदै आइपिओ निष्कासन प्रक्रिया रोक्न भनेको छ।
‘घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडलाई प्रदान गरेको इस्युअर रेटिङ, क्रेडिट रेटिङ नियमावली २०६८ को नियम ३४ को उपनियम २ विपरीत भए/नभएको बारेको केयर रेटिङ नेपाल लिमिटेडलाई तीन दिनभित्र स्पष्ट गरी पेस गर्न जेठ ३० मा पत्राचार भएकामा केयर रेटिङ नेपाल लिमिटेडले हालसम्म जानकारी पेस नगरी कुनै आधार बिना म्याद थपका लागि अनुरोध गर्दै आएको छ”, बोर्डको पत्रमा भनिएको छ, “साथै उक्त कम्पनीको सार्वजनिक निष्कासनमा मागभन्दा बढी कित्ताको शेयर आवेदन प्राप्त भइसकेको अवस्थामा समेत सार्वजनिक निष्कासनको समयावधि थप गर्न सूचना प्रकाशित गरेको देखिएको सन्दर्भमा सर्वसाधारण लगानीकर्ताको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै उक्त कम्पनीको रेटिङ र सार्वजनिक निष्कासनसम्बन्धी कैफियतको जाँचबुझका लागि हाललाई घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको सार्वजनिक निष्कासनको सम्पूर्ण प्रक्रिया स्थगन गरिएको छ।” रासस