Logo

हामीसँग जे छ त्यो नै विक्री गर्ने हो, युवाहरुलाई योग्य बनाएर विदेश पठाउँः मेटमणि चौधरी



काठमाडौं, ५ असार । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले नेपालमा श्रम प्रतिष्ठान स्थापना गर्न आवश्यक रहेको बताएका छन् । प्रतिनिधि सभामा आज (मंगलबार) बजेटमाथिको छलफलमा भाग लिँदै उनले विदेश पठाउने युवाहरुलाई उक्त प्रतिष्ठानको माध्यमबाट सीपयुक्त बनाएर पठाउन पर्ने बताएका हुन् ।

आर्थिक वर्ष २०७९, ०८० मा करिब छ लाख ३० हजार युवाहरु विदेश गएको उनले बताए । अहिले विदेश जानेहरुले राम्रो पारिश्रमिक नपाएको उनले बताए । वैदेशिक रोजगारीमा गएकाहरुले उच्च रिस्कमा रहेर पनि नेपालमा रेमिट्यान्स पठाएको उनको भनाई छ ।

‘उहाँ (वैदेशिक रोजगारीमा गएका) हरुका लागि राम्रो स्यालरी छैन । उच्च प्रकारको रिस्कमा उहाँहरु हुनुहुन्छ । तरपनि रेमिट्यान्स पठाइराख्नु भएको छ । यो विषयमा माननीय श्रम मन्त्रीको ध्यान कम्तिमा एउटा सीप प्रतिष्ठान बनाउँ भन्छु ।’ सांसद चौधरीले भने, ‘नेपालका योङ्गहरुलाई क्वालीफाइड बनाएर हामीले विदेशमा पठाउँ । कि त डिक्लियर गरौं कुनै पनि नेपाली विदेश नजाउँ । यदि डिक्लियर गर्ने होइन भने हामीसँग जे स्रोत र साधन छ त्यो नै विक्रि गर्ने हो भने, त्यो नै आम्दानीको स्रोत मान्ने हो भने कम्तिमा हाम्रा योङ्गहरुलाई सीप सिकाउन पर्ने जरुरी छ ।’



प्रतिक्रिया दिनुहोस्