Logo

शान्ति सुरक्षाको माग गर्दै लेलिन मानव अधिकार आयोगमा



काठमाडौं, ६ असार । तत्कालीन माओवादी सशस्त्र युद्धमा बालसैन्यको प्रयोग भएको भन्दै सवोृच्च अदालतमा मुद्दा दर्ता गराएका लेलिन विष्टसहित नौ जनाले शान्ति सुरक्षाको माग गर्दै मानव अधिकार आयोगमा उजुरी दिएका छन् । उनीहरुले युद्धमा बाल सैन्यको प्रयोग गरेको र शान्ति प्रक्रिया पछि पनि उनीहरुको उचित व्यवस्थापन नगरेको भन्दै प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्कालीन माओवादी नेता बाबुराम भट्टराईविरुद्ध रिट दर्ता गराएका थिए ।

दाहाल र प्रचण्डविरुद्ध रिट दर्ता गराएपछि माओवादी पक्षबाट आफूहरुमाथि धाक धम्की दिने, ज्यानै मारी दिन्छौं, सफाया गर्छौं भन्ने मनोवैज्ञानिक दवाब दिने, अदालत परिसर भित्र र बाहिर पनि अनावश्यक हुल हुज्जत गर्ने जस्ता गतिविधि गरेको भन्दै आफू र परिवारको सदस्यको जिउ धन र वैयक्तिक स्वतन्त्रताको रक्षाको माग गर्दै उजुरी दर्ता गराएका हुन् ।

‘हामी द्वन्द्वकालमा तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीद्वारा संचालित जनयुद्धमा प्रयोग गरिएका बालसेनाहरूलाई जनयुद्धको नेतृत्वकर्ताद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा.बाबुराम भट्टराई लगायतले सम्मानित सर्वोच्च अदालतमा उनीहरू विरुद्ध मुद्दा हालेको भनी धाक धम्की दिने, ज्यानै मारी दिन्छौं सफाया गर्छौं भन्ने, मनोवैज्ञानिक दबाब दिई मानसिक यातना दिने, सम्मानित अदालत परिसर भित्र र बाहिर पनि अनावश्यक हुल हुज्जत गरी रहेकोले हाम्रो र हाम्रा परिवारको सदस्य समेतको जिउ धन र वैयक्तिक स्वतन्त्रताको रक्षा गरी पाऊँ,’– विष्टसहित नौ जनाले राष्ट्रिय मानव अधिकार आयोगमा दिएको उजुरीमा भनिएको छ ।

तत्कालीन माओवादीका बालसेनाहरु लेनिन विष्ट, कृष्ण प्रसाद दंगाल, शोभा पराजुली, परमेश्वर खड्का, मदन राई, मोहनकुमार चुहान, राजन तामाङ, खेम बहादुर राई र तुलसी नेपालले आयोगमा संयुक्त उजुरी दिएका हुन् ।

उनीहरुले प्रचण्ड र बाबुराममाथि दायर गरेको मुद्दामा आगामी असार १९ गते तारेख तोकिएको छ । उक्त दिन अदालत जाने क्रममा आफूहरुमाथि दुर्व्यवहार हुने सूचना पाएको जानकारी गराउँदै उनीहरुले उचित शान्ति सुरक्षाको प्रबन्धका लागि पनि आग्रह गरेका छन् ।

उनीहरुले बालसेनाको हैसियतमा आयोगमा विगतमा दायर गरेको उजुरीमाथि भएको छानबिन र प्रगति विवरणको बारेमा लिखित जानकारीको समेत माग गरेका छन् । साथै, आयोगमा द्वन्द्व कालका बालसेनाले दिएको उजूरीको आधिकारिक जानकारी पनि माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्