काठमाडौँ,६ असार । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं प्रतिनिधि सभाका सांसद प्रभु साहले किसानलाई पेन्सनको व्यवस्था गर्न माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभामा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै अध्यक्ष साहले कृषि क्षेत्रको प्रोत्साहन र किसानको सम्मानको लागि पेन्सन दिने व्यवस्था गर्न सरकारले आँट गर्नुपर्ने धारणा व्यक्त गरे ।
अध्यक्ष साहले भने,‘किसानलाई पेन्सनको व्यवस्था गरौं । लुटने स्थायी सरकारलाई होइन । जति ठूलो पोष्टमा छ, त्यति ठूलो भाग खानेलाई पेन्सन दिएर पाल्ने होइन । स्वार्थीलाई सम्मान गर्ने हो कि त्यागीलाई सम्मान गर्ने हो ? दुनियाँका लागि खुन पसिना सुकाएर जीवन दिनेलाई सम्मान गर्ने हो कि चुसेर महल ठड्याउनेलाई सम्मान गर्ने हो ? त्यसैले म चाहन्छु–सरकारले यसमा आँट गरोस् । किसानहरुले आफ्नो हक प्राप्तीका लागि आन्दोलन गर्नुपर्ने अवस्था नआओस् । कृषिलाई आकर्षक बनाउन यो परम्परागत बजेटले सम्भव छैन । त्यसमा नितान्त नयाँ ढंगले सोच्न म विशेष आग्रह गर्न चाहन्छु ।’