Logo

बालेन शाहविरुद्ध सिनेमा हल व्यवसायीद्धारा दायर रिट न्यायाधीश चन्दको इजलासमा



काठमाडौं,७ असार । सिनेमा हल व्यवसायीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध दायर गरेको मुद्दामा सुनुवाइको लागि उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासमा पेसी परेको छ ।

सिनेमा हल व्यवसायीहरू प्रितम घिमिरेलगायतले हिजो उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । संघीय सरकारले हिन्दी सिनेमा ‘आदिपुरुष’ सेन्सर गरेर चलाउन अनुमति दिएको अवस्थामा स्थानीय सरकारले रोक्न नमिल्ने भन्दै सिनेमा घर सञ्चालकहरूले बताउँदै आएका छन् ।

सिनेमा चलाउन दिने अधिकार संघ सरकारको हो कि स्थानीय सरकारको हो भन्दै उनीहरूले प्रश्न उठाएका छन् । ‘आदिपुरुष’मा जानकी भारतकी छोरी हुन् भन्ने आसयको संवाद राखेको भन्दै बालेनले उक्त संवाद हटाउन तीन दिनको अल्टिमेटम दिएका थिए । तर, सो समयभित्र संवाद नहटाएको भन्दै बालेनले कामपाभित्रका हलमा सोमबारबाट ‘आदिपुरुष’सहित हिन्दी सिनेमा चलाउन रोक लगाएका थिए ।

हिन्दी सिनेमा काठमाडौंमा प्रदर्शन गर्न रोक लगाउने  मेयर बालेन शाह र काठमाडौं महानगरलाई विपक्षी बनाउँदै उनीहरुले हिजो मुद्दा दर्ता गराएका हुन् ।

बालेनको यही निर्णयको विरोध गर्दै हिजोमात्रै काठमाडौं महानगरकी शिक्षा सल्लाहकार रेशु अर्यालले पदबाट राजीनामा दिएकी थिइन् ।

राजीनामामा रेशुले लेखेकी थिइन्,‘दुर्भाग्यपूर्णरुपमा,केही ताजा कदम,निर्णय प्रक्रिया तथा उहाँको सिधा निर्देशिनमा लिइएका निर्णयहरु मेरा मान्यताभन्दा विपरित थिए र यी कुराहरु मेरो घर परिवारसँग पनि सिधा जोडिएका थिए, जसले गर्दा स्वार्थको द्वन्द्व उत्पन्न हुने परिस्थिति आयो ।’ रेशुले स्वार्थको द्वन्द्व भनेर भारतीय चलचित्रमाथि लगाइएको रोकलाई ईंगित गर्न खोजेको हुनसक्ने अनुमान गरिएको छ ।

आदिपुरुषको विवादलाई लिएर काठमाडौंमा भारतीय चलचित्र रोक्ने निर्णयको उनी विरुद्धमा थिइन् । उनका श्रीमान भास्कर ढुंगाना नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका सञ्चालक हुन् । उनै ढुंगाना लगायतको टिम बालेनविरुद्ध अदालत जाने तयारीमा जुटेपछि रेशुले राजीनामा दिएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्