Logo

मिसन ०८४ मा बालेन र हर्कलाई पनि जोड्ने रविको चाहना



काठमाडौं, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी २०८४ सालमा हुने आम निर्वाचनमा बालेन्द्र शाह र हर्क साम्पाङलाई जोड्न चाहेको बताएका छन् । त्यसका लागि रास्वपा एक सय प्रतिशत नै सकारात्मक रहेको उनको भनाई छ । पार्टी स्थापनाको एक वर्ष पूरा भएको अवसरमा आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको जिज्ञास मेटाउँदै उनले आफू हर्क र बालेनको प्रसंशक रहेको र राम्रो कामको जहिले पनि समर्थन गरेको बताए ।

‘आगामी मिसन ०८४ मा बालेन र हर्कलाई पनि जोड्ने तयारी हो ?’ भन्ने प्रश्नमा उनले भने, ‘यो एकदमै राम्रो हुन्थ्यो । त्यस्ता साथीहरुलाई हामीले जोड्न सके त असाध्यै राम्रो हुन्थ्यो । त्यो त हाम्रो चाहना अनुरुप साथीहरुले त्यसैगरी सोच्दिनु भयो भने हाम्रो तर्फबाट एक सय प्रतिशत हामी सकारात्मक छौं । सम्बन्धनका हिसाबले पनि हाम्रो सौहार्दपूर्ण सम्बन्ध छ । उहाँहरुको कामको हिसाबले पनि मैले त निरन्तर रुपमा प्रसंशा गरेको छु । चुनाव लड्दाखेरी सघाएदेखि अहिलेसम्म उहाँहरुको राम्रो काममा सघाउने काममा निरन्तरता दिएको जस्तो लाग्छ मलाई । त्यो आफैंमा राम्रो संकेत बन्न सक्यो र हुनसक्यो भने हाम्रा लागि खुसीको कुरा हुने छ ।’

 



प्रतिक्रिया दिनुहोस्