काठमाडौं, ७ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हाम्रो आवश्यकता र स्रोतको बीचमा ठूलो खाडल रहेको बताएका छन्। प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा मन्त्री बस्नेतले सरोकारवाला निकायका बीचको समन्वय अभावका कारण पनि अपेक्षित प्रगति हासिल गर्न कठिनाइ रहेको बताए।
उनले आवश्यकता र स्रोतबीच रहेको अन्तरका कारण पनि अपेक्षित प्रगति हासिल गर्न कतिपय अवस्थामा कठिनाइ भएको बताए। मन्त्री बस्नेतले बिजुलीको आन्तरिक खपत बढाउनका लागि सरकारले योजनाबद्ध प्रयास गरिरहेको जानकारी दिए।
उनले भने, “आन्तरिक खपत वृद्धिका लागि मन्त्रिपरिषद्बाट कार्यायोजना स्वीकृत गर्दछौँ। कार्ययोजना तयार भइसकेको छ।” उनले बढी भएको बिजुलीमात्रै भारतलाई बिक्री गरिने बताए। सम्भाव्यता अध्ययन पूरा भएका आयोजना सुरु गर्ने तयारीमा सरकार रहेको समेत उनको भनाइ छ। एकीकृत योजनासहित अगाडि बढ्ने सोचमा मन्त्रालय रहेको मन्त्री बस्नेतको कथन छ। रासस