Logo

अर्थतन्त्र धेरै गतिशील भइसकेको प्रधानमन्त्री प्रचण्डको दाबी



काठमाडौं, १३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूले सरकारको नेतृत्व गर्दैगर्दा देश श्रीलंकाजस्तै आर्थिक संकटमा जाने भाष्य निर्माण भइरहेको अवस्थामा रहेकोमा अहिले देशको अर्थतन्त्र गतिशील भइसकेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार गठन भएको छ महिनाको अवधिमा भएगरेका कार्यहरूका बारेमा प्रतिनिधिसभामा गरेको सम्बोधनमा यसबीचमा अर्थतन्त्र धेरै गतिशील भएको बताइएको छ । यसलाई आफूले सरकारको उपलब्धिमा मात्र सीमित गर्न नचाहेर राष्ट्रकै उपलब्धीको रुपमा लिएको उल्लेख गरेका छन् । ‘यसबीचमा अर्थतन्त्र धेरै गतिशील भएको छ। म यसलाई सरकारको उपलब्धिमा मात्र सीमित गर्न चाहन्‍नँ, राष्‍ट्रकै उपलब्धि मान्दछु,’– उनको सम्बोधनमा भनिएको छ ।

अहिले सबैजसो आर्थिक सूचकहरू सकारात्मक रहेको उनले बताएका छन् । पछिल्लो छ महिनायता कूल विदेशी विनिमय सञ्‍चिति २०।९ प्रतिशतले वृद्धि भएको र अहिले ९।७ महिनाको वस्तु तथा सेवा आयात धान्‍न सक्ने सुरक्षित अवस्थामा रहेको पनि प्रधानमन्त्री प्रचण्डले उल्लेख गरेका छन् ।

यसैगरी कूल वस्तु व्यापार घाटामा १५।२ प्रतिशतले कमी आएको र विप्रेषण उल्लेखनीय रूपमा बढेको बताईएको छ। गत वर्षको यो अवधिका तुलनामा पर्यटक संख्या दोब्बर बढी भएको पनि उनले दाबी गरेका छन् ।

वित्तीय क्षेत्रको स्थायित्व र लगानीको वातावरणमा सकारात्मक सुधार भएको र चुहावटलाई कडाइका साथ नियन्त्रण गरेपछि राजस्व परिचालनमा सुधार आएको उनको दाबी छ। नेपाल विद्युत प्राधिकरण र नेपाल आयल निगम नाफामा गएको उनको दाबी छ । नेपाल वायुसेवा निगमको आर्थिक अवस्था पनि सुधारउन्मुख रहेको उल्लेख छ।



प्रतिक्रिया दिनुहोस्