काठमाडौं,१४ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले ७७ वटै जिल्लामा सम्पर्क सांसद तोकेको छ । देशैभरि रहेका नागरिकसँग प्रत्यक्षरुपमा जोडिन सहज होस भन्ने उदेश्यले रास्वपाले आफ्ना पार्टीबाट निर्वाचित २१ सांसदमध्ये पार्टी सभापति रवि लामिछानेबाहेक सबैलाई जिल्ला सम्पर्क व्यक्तिको रुपमा जिम्मेवारी दिएको छ ।
पार्टी सभापति लामिछानेलाई भने केन्द्रीयरुपमा सबै जिल्ला र पार्टीलाई नेतृत्व गर्नुपर्ने भएका कारण अन्य जिल्लाको जिम्मेवारी नदिइएको रास्वपाले जनाएको छ ।
रास्वपाले पार्टी उपसभापति डोलप्रसाद अर्याललाई धादिङ, बारा कैलाी र कञ्चनपुरको जिम्मेवारी दिइएको छ । उनी समानुपातिक तर्फका सांसद तथा पुर्व श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री समेत हुन् । त्यस्तै पार्टीका अर्का नेता तथा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई गुल्मी,अछाम, दार्चुला र पाल्पाको जिम्मेवारी दिएको छ ।
पार्टीका प्रमुख सचेतक सन्तोष परियारलाई भक्तपुर, अर्घाखाँची,दैलेख र बाजुराको सम्पर्क व्यक्तिको जिम्मेवारी दिएको रास्वपाले सचेतक निशा डाँगीलाई झापा,मोराङ,इलाम र सल्यानको जिम्मेवारी दिएको छ ।
उपनिर्वाचनको मुखैमा नेपाली कांग्रेस परित्याग गरेर रास्वपा प्रवेश गरि तनहुँ-१ बाट निर्वाचित सांसद डा.स्वर्णिम वाग्लेलाई गोराखा,पर्सा,तनहुँ र बैतडीको सम्पर्क सांसदको जिम्मेवारी पाएका छन् । भने मनिष झालाई धनुषा, रौतहट, रुपन्देही र बझाङको सम्पर्क सांसद तोकिएको छ।
त्यस्तै काठमाडौं-२ बाट निर्वाचत सोबिता गौतमलाई दोलखा,रामेछाप, सिन्धुपाल्चोक र जाजरकोट तोकिएको छ। काठमाडौं-७ बाट निर्वाचित सांसद गणेश पराजुलीलाई ओखलढुङ्गा, खोटाङ, सिराहा र डँडेलधुराको सम्पर्क सांसदको जिम्मा दिइएको छ। समानुपातिक सांसद सुमना श्रेष्ठलाई रसुवा, काठमाडौं, रूकुम (पूर्व) र रूकुम पश्चिमको जिम्मा दिइएको छ।
ललितपुर-२ की सांसद तोसिमा कार्कीलाई ताप्लेजुङ,पाँचथर, डोटी र ललितपुर जिम्मा दिँदा रास्वपाले काठमाडौं-६ का सांसद शिशिर खनाललाई रोल्पा, दाङ, सर्लाही, र सप्तरीको सम्पर्क सांसद तोकिएको छ।
चितवन-१ का सांसद हरि ढकाल सोलुखुम्बु, चितवन, नवलपुर र उदयपुरको सम्पर्क सांसद भएका छन्। डा.चन्दा कार्कीलाई भोजपुर, सिन्धुली, मनाङ र महोत्तरीको जिम्मेवारी दिइएको छ। त्यस्तै असिम शाह काभ्रेपलाञ्चोक, नुवाकोट, मुस्ताङ र कपिलवस्तुको सम्पर्क सांसद तोकिएका छन्। लक्ष्मी तिवारी प्युठान, नवलपरासी, बर्दिया र बाँकेकी सम्पर्क सांसद भएकी छन्। अशोककुमार चौधरीलाई धनकुटा, तेह्रथुम, संखुवासभा र सुनसरी परेको छ।
विन्दबासिनी कंशाकारलाई स्याङ्जा, बाग्लुङ, मकवानपुर गरी तीन जिल्लाको सम्पर्क सांसद तोकिएको छ।
अर्का समानुपातिक सांसद शिव नेपालीलाई लमजुङ, म्याग्दी, पर्वत र कास्की तथा बिनिता कठायतलाई जुम्ला, कालिकोट, मुगु, हुम्ला, सुर्खेत, डोल्पाको जिम्मेवारी प्रदान गरिएको छ ।