काठमाडौं, १४ असार । राष्ट्र र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले अहिलेको शासन व्यवस्था राणा कालको भन्दा पनि क्रुर भएको टिप्पणी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिलेको व्यवस्थामा नागरिकलाई कतिबेला लगेर थुनिदिने भन्ने थाहै नभएको बताएका हुन् ।
‘हिजो राजाको पालामा के–कै चिज बने ? आज गणतन्त्र आएपछि के–के चिज गए । दुई करोड ९० लाख जनतामा आज एक करोड २५ लाख जनता बाहिर पठाएर बढाबुढी र केटाकेटीमात्रै राखेर अनि जनताको शासन छ ? प्रश्न गर्दै उनले भने, ‘हिजोको राणा शासनभन्दा पनि क्रुर भएको छ अहिलेको व्यवस्था । कतिखेर पक्रेर थुन्छन्, कतिखेर के गर्छन् भन्ने पिर ।’
आफू माओवादी जनयुद्ध पनि लडेर आएको र केपी ओलीसँग पनि बसेर आएको उनको दाबी छ । राजा महेन्द्रले नेपालीलाई पुनर्वासको व्यवस्था गरेकाले अहिले आफूलाई उक्त कुराले मन छोएको उनले बताए । File Photo/Reporters Nepal