काठमाडौं, १४ असार । सामाजिक सञ्जालमा जापानको एउटा तस्विर भाइरल भइरहेको छ। जसमा नदीको पानी रातो भएको देख्न सकिन्छ। खोलाको पानीमा रातो रंग देखेर स्थानीयवासी आक्रोशित भएका छन्।
यो नदी नजिकै रहेको बियर कम्पनीमा चुहावटको समस्याका कारण भएको हो।
यो नदी जापानको ओकिनावास्थित नागो सहरको हो। जहाँ मानिसहरूले यो घटनाप्रति आक्रोश व्यक्त गर्दै सामाजिक सञ्जालमा निन्दा गरेका छन्। घटनापछि स्थानीय बियर कारखाना ओरियन ब्रुअरीजले जनतासँग माफी मागेको छ। कम्पनीको कुलिङ सिस्टमबाट यो लिक भएको बियर कम्पनीले जनाएको छ।
यस कारण पानीको रंग रातो
प्रोपाइलिन ग्लाइकोलका कारण नदीको पानी रातो भएको कम्पनीले जनाएको छ। यद्यपि कम्पनीले यसले जनताको स्वास्थ्यमा कुनै असर नगर्ने पनि बताएको छ। कम्पनीले जनतालाई रङ परिवर्तनसँग सम्बन्धित कुनै स्वास्थ्य जोखिम नभएको आश्वस्त गरेको छ। तर, यसले समुदायलाई परेको असुविधा र चिन्तालाई स्वीकार गरेको छ।
खोलाको पानी रातो भएको खबर सहरमा फैलिनेबित्तिकै सामाजिक सञ्जालमा मानिसहरुले आ-आफ्नो प्रतिक्रिया दिन थालेका छन्। कतिपयले दृश्यलाई डरलाग्दो भनी वर्णन गरे भने अरूले यसलाई विषाक्त चीजसँग तुलना गरेका छन्।
पानीको रंग एक्कासी परिवर्तन भएको देखेर स्थानीयवासी छक्क परेका छन्।