Logo

अन्ततः एमालेले थापेको सबै ढोक्सा रित्तै !



काठमाडौं, १५ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएका छन्।

गत पुस २५ गते मुखयमन्त्री नियुक्त भएका एमाले नेता कार्की प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि पदमुक्त भएका हुन्। बिहीबार बसेको प्रदेश सभा बैठकमा कार्कीले राखेको विश्वासको मत सम्बन्धि प्रस्ताव अस्वीकृत भएपछि उनी स्वतः पदमुक्त भएका हुन् ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्की पदमुक्त भएसँगै गत मंसिरको आम निर्वाचनपछि एमालेले गुमाएको चौथो मुख्यमन्त्री पद हो। यसअघि एमालेले सुदूरपश्चिमसहित गण्डकी र लुम्बिनीको मुख्यमन्त्री पद गुमाइसकेको छ। एमालेले कोशी प्रदेशको मुख्यमन्त्री पद गुमाएसँगै राजनीतिक वृतमा एमालेले थापेका सबै ढोक्सा रित्तो भएको टिप्पणी सुरू भएको छ।

‘ढोक्सा’ अर्थात माछा मार्न प्रयोग गरिने ढडिया। नेपालमा ढडिया थापेर माछा मार्ने चलन धेरै पुरानो हो। नेपाली समाजमा विरलै सुनिएको ‘ढोक्सा’ शब्द पहिलोपटक संसद्‍मा गत वर्ष पुस २६ गते सुनिएको थियो। यो एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोग गरेका थिए।

उनले आम निर्वाचनपछि बनेको संसद्‍को दोस्रो बैठकमा तत्कालीन अवस्थामा हातैमा आइपुगेको प्रधानमन्त्री पद गुमेको रन्कोमा रन्थनिएको कांग्रेसलाई चूनौती दिँदै माओवादी केन्द्र र एमाले मिलिसकेको दाबी गर्दैै राजनीतिक पदमा भागबण्डाको आस नगर्न आग्रह गरेका थिए ।

पुस १० गते विहानसम्म प्रतिपक्षीमा रहने निश्चित भएको एमालेले एकाएक सत्तापक्ष बन्ने अवस्था आइपुगेपछि हौसिएका ओलीले कांग्रेसलाई चूनौति दिनु कुनै अनौठो भने हैन। जसरीपनि प्रधानमन्त्री बन्ने महत्वकांक्षा बोकेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेससँग कुरा नमिलेपछि ओली निवास बालकोट पुगेका थिए। झण्डै दुई वर्षदेखिको शत्रुतापूर्ण व्यवहार गरिरहेका प्रचण्ड आफैँ आएपछि एमाले अध्यक्ष ओलीपनि नौनी पग्लिएझै पग्लिएपछि प्रचण्डको सत्ता यात्रा निश्चित बनेको थियो ।

नेपाली राजनीतिमा निक्कै चतुर खेलाडी मानिएका प्रचण्डलाई ओलीले प्रधानमन्त्री बन्न सघाएपछि सत्ता गुमेको छटपटाहटले रन्थनिएको कांग्रेसले चतुरतापूर्वक प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्‍यो।

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिनुका पछाडि राष्ट्रपति निर्वाचनलाई ढोक्सा थापेको बुझाइसहित एमाले अध्यक्ष ओलीले संसद्‍मा भनेका थिए, ‘यो समर्थन कुनै ‘जाल’ वा ‘ढोक्सा’ होइन भने स्वागत छ, यदि ‘ढोक्सा’ हो भने माछा नभएको खोलामा जाल फ्याँकेजस्तै हुनेछ।’

ओलीको उक्त अभिव्यक्तिले तरंगित बनेको कांग्रेसले तत्काल प्रतिवाद गर्दै ओलीलाई जवाफस्वरूप राष्ट्रपति निर्वाचनमा ढोक्सा थाप्ने र कांग्रेसको ढोक्सामा माछा परेरै छोड्ने दाबी गरेको थियो। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र अर्का युवा नेता प्रदीप पौडेलले ओलीलाई च्यालेन्ज गर्दै कांग्रेसले राष्ट्रपति निर्वाचनमा थापेको ढोक्सा रित्तो बनाएर देखाउन चूनौतीसमेत दिए।

पुस १० गते बालकोटको बार्दलीमा अभिवादन गरेपछि सुध्रिएको आली-प्रचण्ड सम्बन्ध २६ पुसको संसद् बैठकमा ओलीले दिएको अभिव्यक्तिले चिसिन सुरू भइसकेको थियो। उक्त दिनको संसद् बैठकमा एमाले अध्यक्ष ओलीले अघिल्लो कार्यकालमा आफैंले गरेको दुई पटकको संसद् विघटनलाई बचाउ गर्दै संसद् विघटन सही थियो भन्ने भाष्य सिर्जना गरेका थिए।

ओलीको उत्त अभिव्यक्तिले हच्किएको माओवादी अन्तत: कांग्रेसको शरणमा पुगेपछि पुस १० को बालकोट समिकरण भत्कन पुग्यो। फागुन १० मा बनेको पुरानै गठवन्धन ब्युतिँएपछि फागुन २५ र चैत ३ मा भएको राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनदेखि असार १५ मा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सरकार ढल्दासम्म एमालेले थापेका सबै ढोक्सा रित्तिन पुग्यो।

एमालेले पुस १० को बालकोट समिकरण अनुसार केन्द्रमा तत्कालका लागि सभामुख, दुई वर्षपछि प्रधानमन्त्रीसहित चार प्रदेशमा मुख्यमन्त्री, दुई प्रदेशमा सभामुख र तीन प्रदेशमा उपसभामुख पाएको थियो। जसअनुसार कोशीमा हिक्मतकुमार कार्की, गण्डकीमा खगराज अधिकारी, लुम्बिनीमा लिला गिरी र सुदूरपश्चिम प्रदेशमा राजेन्द्रसिंह रावल मुख्यमन्त्री नियुक्त भएका थिए।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत पाउँन नसकेपछि गत वर्षको माघ २७ गते सुदूरका मुख्यमन्त्री रावल पदमुक्त भएभने फागुन १०मा नयाँ समिकरणले मूर्तरूप लिएपछि अन्य तीन प्रदेशका मुख्यमन्त्रीले पनि आफ्नो पद गुमाइसकेका छन्।

हाल एमालेका तर्फबाट प्रतिनिधिसभामा देवराज घिमिरे, मधेश प्रदेश सभामुदमा रामचन्द्र मण्डल र कर्णाली प्रदेश सभामुखमा नन्दा गुरुङ तथा केशी प्रदेशमा सिर्जना दनुवार, बामतीमा अप्सरा चाँपागाई खत्री, गण्डकीमा विनाकुमारी थापा र सुदूरपश्चिममा कोइलीदेवी चौधरी उपसभामुख रहेका छन्।

कुनै बेला कांग्रेसलाई ढोक्सा नथाप्न चेतावनी दिने एमाले अध्यक्ष ओली आफ्नो पार्टीले थापेका सबै ढोक्सा रित्तिँदै गएपछि भने सरकार ढाल्ने खेलमा लागेको आरोप सत्तापक्षका नेताहरूले लगाउन थालेका छन्।



प्रतिक्रिया दिनुहोस्