Logo

६ महिनामै प्रतिपक्षमा धकेलिएको एमालेले कहाँ-कहाँ कहिले गुमायो सत्ता ?



कमल बुढाथोकी

काठमाडौं,१५ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएका छन् । शुक्रबार बसेको प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि कार्की स्वतः पदमुक्त भएका हुन् ।

मुख्यमन्त्री कार्कीले आफुमाथि संविधानको धारा १८८ बमोजिम प्रदेशसभामा विश्वास छ भनि राखेको प्रस्ताबमाथि भएको मतदानमा उनको पक्षमा ४६ मत मात्रै परेपछि उनी स्वतः पदमुक्त भएका हुन् । ९३ सदस्यीय प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न आवश्यक ४७ मत प्राप्त गर्न नसक्दा उनी पदमुक्त भएका हुन् । पुस २५ गते कोशी प्रदेशको चौंथो मुख्यमन्त्री नियुक्त एमाले कोशी प्रदेश संसदीय दलका नेता  कार्कीलाई माओवादीसहित राप्रपा र जसपाको साथ थियो ।

पुस १० मा बनेको सत्ता समिकरण बदलिएर आम चुनाव अगाडीकै १० दलिय गठवन्धन ब्यूँतिएपछि प्रतिपक्षमा धकेलिन सुरू गरेको एमाले गएको वर्षको माघ २७ गतेदेखि  असार १५ सम्म आइपुग्दा केन्द्रसहित सातै प्रदेशमा प्रमुख प्रतिपक्षी दलको हैसियतमा आईपुगेको छ ।

एमालेले कहाँ कहाँ कहिले गुमायो सत्ता ?

१.सुदूरपश्चिम प्रदेश- गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि पदमुक्त भएका थिए ।

तत्कालिन सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले असहयोग गरेपछि सिंहले विश्वासको मत प्राप्त गर्न सकेनन् । विश्वासको मत प्राप्त गर्न नसकेपछि उनी स्वत पदमुक्त भएका थिए । उनी पदमुक्त भएपछि ठूलो दलको हैसियतमा नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेशका संसदीय दलका नेता कमलबहादुर साह मुख्यमन्त्री नियुक्त भएका थिए । हालसम्म पनि उनी नै सो प्रदेशमा मुख्यमन्त्री रहेका छन् ।

२.गण्डकी प्रदेश- गत पुस २५ गते गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता एवं पूर्वगृहमन्त्री खगराज अधिकारी नियुक्त भएका थिए । संघीय सांसद बनेर महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी बहन गर्ने योजना बनाइरहँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको भावी मुख्यमन्त्री घोषणा गर्दै कास्की-१ को प्रदेशसभा ‘ख’ को टिकट थमाइदिएपछि प्रदेशसभामा छिरेका अधिकारी पुस १० गते विहानसम्म गण्डकी प्रदेशसभाको विपक्षी दलको नेताहुने अवस्थामा थिए ।

तर एकाएक बनेको सत्ता समिकरण अनुसार गण्डकीको पाँचौं मुखयमन्त्री बन्ने अवसर पाएका अधिकारीको सत्ता यात्रा भने गत बैशाख ९ गतेनै सकियो । सत्ता सहयात्री दलले विश्वासको मत नदिएपछि आफुलाई राजनीतिमा गैडाको छालासँग तुलना गर्ने अधिकारी वैशाख ९ गते मुख्यमन्त्री पदबाट पदमुक्त भइसकेका छन् ।

३.लुम्बिनी प्रदेश – गत पुस २७ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरी गत वैशाख ११ गते पदमुक्त भएका थिए । ८७ सदस्यीय प्रदेशसभामा आवश्यक विश्वासको मत नपाएपछि गिरी पदमक्त भएका थिए ।

यस बाहेक एमालेले केन्द्रमा पाएको महत्वपूर्ण ८ मन्त्रालयसहित बागमती मधेश र कर्णाली प्रदेश सरकारसमेत छोडिसकेको छ । गत फागुन १५ गते केन्द्र सरकारबाट बाहिरिएको एमाले बागमती प्रदेशमा चैत २४मा तथा मधेश प्रदेश सरकारबाट चैत २१ मा बाहिरिएको थियो भने कर्णाली प्रदेश सरकारबाट चैत २६ गते बाहिरिएको थियो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचमा गत पुस १० गते भएको सहमति अनुसार एमालेले केन्द्रमा सभामुखसिहत चार प्रदेशमा मुख्यमन्त्री तथा दुई प्रदेशमा सभामुख र चार प्रदेशमा उपसभामुख पाएको थियो ।

हाल एमालेका तर्फबाट केन्द्रमा देवराज घिमिरे सभामुख रहेका छन् । भने प्रदेशतर्फ मधेश प्रदेशमा रामचन्द्र मण्डल र कर्णाली प्रदेशमा नन्दा गुरुङ सभामुख रहेका छन् भने कोशीमा सिर्जना दनुवार, बागमतीमा अप्सरा चाँपागाई खत्री,गण्डकीमा विनाकुमारी थापा र सुदूरपश्चिम प्रदेशमा कोइरीदेवी चौधरी उपसभामुख रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्