काठमाडौं, १५ असार । नेपालमा ६५औँ संसद् दिवस शनिबार मनाइँदै छ। विसं २०१६ मा आजकै दिन नेपालको पहिलो ‘संसद्’ को बैठक बसेको थियो।
‘सङ्घीय संसद्को परामर्शदातृ अङ्ग’ पूर्वसांसद मञ्च नेपालको आयोजनामा संसद् भवन, नयाँ बानेश्वरमा प्रतिनिधिसभाका सभामुखको प्रमुख आतिथ्यमा सो समारोह आयोजना गरिँदै छ।
संसदीय गतिविधिसम्बन्धी समाचार सङ्कलन गर्ने सञ्चारकर्मीहरूको साझा संस्था ‘संसदीय मामिला पत्रकार समाज’ को आठौँ अधिवेशन पनि संसद् दिवसकै अवसर पारेर शनिबार नै संसद् भवन, ल्होत्से भवनमा हुँदैछ।
सोही ग्यालरी बैठकमा संसद्का अधिवेशन बस्दै आएकामा संविधानसभा निर्वाचनपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नै संसद् भवनका रूपमा प्रयोग गरिँदै आएको छ। नयाँ संसद् भवन भने सिंहदरबार परिसरभित्रै निर्माणाधीन छ।
नेपालको पहिलो संसद्को पहिलो बैठक राति ११ बजेर ४५ मिनेटको साइत पारी बोलाइएकामा सभा प्रारम्भ भने ठीक मध्यरात १२ बजे सिंहदरबारस्थित ग्यालरी बैठकमा बसेको इतिहास छ।
डेढ वर्षे अवधिमा बसेको दुई अधिवेशनअन्तर्गत एक बैठकमा एक सांसदले अर्को दललाई लक्ष्य गरी सामान्य आरोप लगाएवापत केही मिनेट अवरुद्ध भए पनि पुनः सञ्चालन भयो, अर्को अवरोध कहिल्यै भएन।