काठमाडौं, १६ असार । ललितपुर बार एशोसिएशनले अदालतका कर्मचारी र अधिवक्ताबीचको सामन्य विवादलाई पनि अतिरञ्जित गरिएको भनि आपत्ति जनाएको छ । ललितपुर बारले हिजो (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै कानून व्यवसायीको हैसियतले विचाराधीन रहेको मुद्दाको मिसिल संलग्न कागजात हेर्ने क्रममा अदालतका कर्मचारी नासु प्रेमीका तामाङ र कानून व्यवसायी अधिवक्ता अमिर लामिछानेबीचको सामान्य विवादलाई अतिरञ्जित बनाइएको बताएको हो ।
उक्त घटनालाई लिएर ललितपुर बार एशोसिएशन, अदालत प्रशासन, न्यायाधीश र नासु तामाङबीच छलफल भएपनि सत्यतथ्य बाहिर ल्याउन अदालत पक्षले नचाहेको विज्ञप्तिमा उल्लेख छ । घटनाको सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कारबाही गर्न ललितपुर बारले माग गरेपनि अदालतले प्रमाणको रुपमा रहेको सिसिटिभी फुटेज निकाल्न विभिन्न बहाना गरेको विज्ञप्तिमा उल्लेख छ ।अदालतले सिसिटिभी विग्रिएकाले फुटेज नरहेको जानकारी गराएको विज्ञप्तिमा भनिएको छ ।
‘उक्त घटनाको सम्बन्धमा आज मिति २०५०।०३।१५ गते ललितपुर बार एशोसिएशन, अदालत प्रशासन, माननीय न्यायधीशज्यूहरु र ना.सु. प्रेमीका तामाङ बीच ललितपुर जिल्ला अदालतमा बैठक बसी छलफल गर्दा ललितपुर बारको तर्फबाट घटनाको सत्यतथ्य बाहिर ल्याउने प्रमुख प्रमाणको रुपमा रहेको अअतख फुटेज हेरी थप प्रकृया अगाडी बढाउ भनी अनुरोध गर्दा अदालत प्रशासनबाट CCTV रेकर्ड विग्रिएकोले मर्मतको लागि सर्वोच्च अदालत पठाएको भनी जवाफ आएको,’– ललितपुर बारका सचिव अधिवक्ता छोनम मोक्तानद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
छलफल गरिरहेकै अवस्थामा ललितपुर अदालतमा कार्यरत कर्मचारीहरुको तर्फबाट विज्ञप्ति र असम्बन्धीत पक्षहरुको अनावश्यक दबाबको कारण ठोस रुपमा सत्यतथ्य पत्ता लगाउन असहज भएको बताइएको छ ।
ललितपुर बारले उक्त घटनाको सत्यतथ्य पत्ता लगाई वास्तविक दोषी उपर कानून बमोजिम कारवाहीको माग गरेको छ । अदालत परिवारभित्रका सामान्य विवादमा एक कानून व्यवसायीलाई पक्राउ गरि हिरासतमा राख्नु दुःखद भएको भन्दै अधिवक्ता लामिछानेलाई तत्काल रिहाई गर्न मागसमेत गरिएको छ ।