Logo

पूर्वआईजीपी खनालको खुलासा : ललिता निवास प्रकरणमा जिल्ला प्रशासन, गुठी संस्थान, मालोपोत, नापीका हाकिमको संलग्नता



काठमाडौं, १७ असार । पूर्वआईजीपी एवं नेकपा (एमाले) नेता सर्वेन्द्र खनालले ललिता निवास जग्गा प्रकरणमा मालपोत, नापी, गुठी संस्थान र जिल्ला प्रशासन कार्यालयसमेतको संलग्नता रहेको बताएका छन् । हिजो (शनीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् ।

‘नेपाल सरकारको सम्पत्तिमा कसरी गुठी र मोहियानी लाग्दै गयो ? गुठी संस्थानको हाकिम, मालोपोतको हाकिम, नापीको हाकिर र जिल्ला प्रशासनको समेत मिलेर उनीहरुको अदालबदल भइरहन्छ । त्यसकारण यो सिधै देखिएको विषय छ,’– उनले भने ।

अधिकारको दुरुपयोग गर्नेलाई समान रुपमा कारबाही गर्नुपर्ने उनले बताए । सानालाईमात्रै कानुन लगाउने र ठूलालाई उन्मुक्ति दिने प्रवृत्तिको अन्त्य हुन आवश्यक रहेको उनले बताए । खनालले ललिता निवास प्रकरणमा जनताको माग पनि सत्य तथ्य छानविन गर्नुपर्ने रहेको बताए । उक्त प्रकरणमा मुलुकी ऐन २०२० बमोजिम अभियोजन हुने र सरकारी किर्तेमा कुनै पनि हदम्याद नलाग्ने उनको दाबी छ । उनले अपराधमा लाग्ने कोही पनि साना ठूला नहुने बताए ।

‘अपराधमा संलग्नहरु भिआईपी भन्ने नै हुँदैन । अभियुक्तहरु भनेर लिएर आउने, अभियोजन गरेर अदालतमा लगिसकेपछि अदालतबाटै फैसला हुन्छ, त्यसपछि हो अपराधी त,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्