Logo

प्रचण्डको प्रशंसा गर्दै माधव नेपालले भने, ‘कम्युनिष्ट नेताका रुपमा अहिलेका प्रधानमन्त्री पाएका छौं’



काठमाडौं, १७ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेपालको राजनीतिक क्रान्ति सफल भएपनि जनताको जीवनमा आमूल परिवर्तन ल्याउने काम बाँकी नै रहेको टिप्पणी गरेका छन् ।

आज (आईतबार) भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४औँ स्मृति दिवस कार्यक्रममा उनले जनतालाई सुखी र खुसी बनाउने काम बाँकी नै रहेको र त्यसको जिम्मेवारी कम्युनिष्ट पार्टीहरुलाई नै आएको बताएका हुन् ।

‘हामीले राजनीतिक क्रान्तिको काम सम्पन्न गर्यौं । अर्को महत्वपूर्ण काम बाँकी छ । त्यो महत्वपूर्ण काम भनेको जनताको जीवनमा आमूल परिवर्तन गर्ने । जनताको जीवनलाई सुखी बनाउने, जनताको जीवनलाई समृद्ध बनाउने, जनतालाई समानताको हिसाबले अवसरको हिसाबले र शिर ठाडो पारेर हिँड्न सक्ने हिसाबले यी सबै कामको जिम्मेवारी अहिले पनि कम्युनिष्ट पार्टीले नै गर्नुपर्ने छ,’– अध्यक्ष नेपालले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफूले यो देश र सरकारको अगुवाई गर्ने कम्युनिष्ट नेताको रुपमा पाएको उनको भनाई छ । अग्रज योद्धाहरुको नयाँ नेपाल निर्माणको सपना साकार पार्न आफूहरु सबैका ज्ञान, अनुभव र बुद्धिलाई लिएर हामी अगाडि बढ्दै गरेको उनले बताए ।

‘त्यही कम्युनिष्ट पार्टीको नेताको रुपमा अहिले हामीले प्रधानमन्त्री पाएका छौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यो देशको अगुवाई गर्दै हुनुहुन्छ । समाजवादको यात्रामा देशलाई कसरी अगाडि बढाउने हो ? यस बारेमा गम्भीर चिन्तन् मनन् गरेर, के गरेर गरिबी, अभाव, बेरोजगारीबाट पीडित जनताहरु र जनताका दुःखहरुलाई सम्बोधन गर्न सकिन्छ भन्ने सन्दर्भमा उहाँले आफ्नो तर्फबाट प्रयास गर्दैहुनुहुन्छ । हामीहरु लागेका छौं । सबैका ज्ञान, अनुभव र बुद्धिलाई लिएर हामी अगाडि बढ्ने हो भने, इमानदारिताका साथ अगाडि बढ्ने हो भने हाम्रा अग्रज योद्धाहरुको नयाँ नेपाल निर्माणको सपनालाई साकार पार्न सकिन्छ,’– उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्