काठमाडौं, १७ असार । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा सरकारले दायाँबायाँ नहेर्ने दाबी गरेका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री गुरूङले अवैध सम्पत्ति नियन्त्रणमा सरकारले दायाँबायाँ नहेर्ने र कुनै हेलचक्य्राइँ नगर्ने दाबी गरेका हुन्।
उनले भने, ‘कालो धन, अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा सरकारले दायाँबायाँ केही हेर्दैन। पीडितलाई न्याय दिने र पीडकलाई कारबाही गर्ने कुरामा सरकार पछि पर्दैन।’
उनले अवैध सम्पत्ति नियन्त्रणमा सरकारले ठूलो-सानो, अनुहार, राजनीतिक पार्टी पनि नहेर्ने र वित्तीय अनुशासन उल्लङ्घन गर्नेलाई पनि नछाडने बताए।